अब क्षेत्रीय प्रशासक नै प्रदेशका प्रमुख सचिव हुने

Posted on: 19 Jan, 2018

माघ ५, काठमाडौँ । सरकारले ५ वटै क्षेत्रीय प्रशासकहरुलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रुपमा खटाउने भएको छ । 

केन्द्रमा मुख्य सचिव जस्तै प्रदेशमा उनीहरुले मुख्यमन्त्रीको कार्यालयअन्तर्गत कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ । तर, उनीहरुको दरबन्दी विशिष्ट श्रेणी सचिव सरहको नै हुनेछ । 

प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवको नेतृत्वमा २५ कर्मचारी खटाइने भएको छ । हाल ५ विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयबाटै कर्मचारीको अस्थायी संरचना तय गरिएको छ ।

क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा राजेश्वरमान सिंह, हेटौंडामा रेश्मीराज पाण्डे, पोखरामा लक्ष्मण अर्याल, सुर्खेतमा सुरेश प्रधान र दिपायलमा लक्ष्मीराज पौडेल प्रमुखका रुपमा कार्यरत छन् । 

उनीहरु नै सम्बन्धित प्रदेशका प्रमुख सचिवका रुपमा खटिनेछन् । क्षेत्रीय प्रशासन कार्यालय नरहेका बुटवल र जनकपुरमा भने बरिष्ठ सहसचिव २ जना कर्मचारी बढुवा गरी प्रमुख बनाउने गृहकार्य भइरहेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवले कर्मचारीको नेतृत्व गर्नेछन् । उनीहरुको पदलाई प्रदेश सचिव भनिनेछ । सरकारले ७ प्रदेशमा बुधवार नियुक्त गरेका प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्भवत: शुक्रबार शपथ लिनेछन् । त्यसपछि अर्को साताबाट उनीहरु सम्बन्धित प्रदेशमा गई जिम्मेवारी सम्हाल्नेछन् ।

क्षेत्रीय प्रशासकले मुख्यमन्त्री चयन भएपछि मात्र आफ्नो कार्यालय हेर्ने भएकाले तत्काललाई प्रदेश प्रमुख कार्यालयको कर्मचारी व्यवस्थापन हेर्न भनिएको छ । प्रदेश प्रमुखको कार्यालयमा रहने २५ कर्मचारीमध्ये प्रमुखले सचिवालयमा राख्ने १२ जनाको निजी सचिवालयका कर्मचारीसमेत पर्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!