प्रदेश ४ मा बैठक सञ्चालनका लागि सदस्य अनुमोदन

Posted on: 05 Feb, 2018

माघ २२, पोखरा | पोखरामा सम्पन्न प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न पाँचजना सदस्यको नाम अनुमोदन गरेको छ । 

बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले राख्नुभएको त्यससम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो । 

उहाँहरूमा गायत्री गुरुङ, टेकबहादुर घर्ती मगर, धनमाया पोखरेल लामा, मनकुमारी गुरुङ र मित्रकुमारी सुवेदी गुरुङ रहनुभएको छ । 

प्रदेशसभा सञ्चालन आन्तरिक कार्यविधिअनुसार सभामुखको निर्वाचनका लागि आगामी फागुन ३ गते बिहीबार दिउँसो १:०० बजेको समय तोकिएको ज्येष्ठ सदस्य श्रेष्ठले बैठकलाई जानकारी दिनुभयो । 

उक्त निर्वाचनका लागि प्रदेशसभाका सचिव जीवराज बुढाथोकीलाई आजै उक्त कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न उहाँले निर्देशन दिनुभयो । 

एक घण्टा ४३ मिनेट चलेको उक्त बैठकमा पृथ्वी सुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली, हरिबहादुर चुमान, कृष्ण थापा, हरिशरण आचार्य, किरण गुरुङ, दोबाटे विश्वकर्मा, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले दलगत रुपमा बैठकलाई सम्बोधन गर्नुभएको थियो । 

प्रदेशसभाको अर्को बैठक फागुन ३ गते बिहीबार दिउँसो १:०० बजे बस्नेछ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!