डोटीका ग्रामिण बजारमा पहिलो पटक अनुगमन

Posted on: 28 Sep, 2016

१० बर्षसम्म कोही नगएका गाउँहरुमा एक्कासी अनुगमन गर्दा ब्यापारी चकित ।

प्रकाश बम | असोज १२, डोटी |  

संयुक्त बजार अनुगमन समितिले डोटीका ग्रामिण क्षेत्रका स्थानिय बजारमा अनुगमनलाई तिब्रता साथ अगाढी  बढाईरहेको छ । अनुगमन समितिले डोटीका बजारका साथै ग्रामिण क्षेत्रमा रहेका बजारहरुमा पहिलो पटक बजार अनुगमन गरीएको छ । यसैक्रममा मंगलबार पूर्बीचौकी क्षेत्रमा अनुगमन गरिएको समितिले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रमा घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले सानागाउँ, खिरसैन गाविसका पसलहरु तथा शान्तिनगर बजारमा अनुगमन गरेको समितिले जनाएको छ ।

जसमा १२ वटा होटल तथा किराना पसल, ८ वटा किराना पसल, २ वटा मदिरा तथा खुद्रा पसल, ३ वटा सुनचाँदी तथा कस्मेटिक पसल र एक वटा सुनचाँदी पसलमा अनुगमन गरिएको प्रशासकिय अधिकृत घिमिरेले बताईन् । जसमा ७ वटा पसलहरुमा म्याद नाघेका तथा उपभोग्य मिति नराखेका सामाग्रीहरु पाईएको उनले जानकारी दिईन् । त्यसमा चाउचाउ, बिस्कुट, नमकिन तथा दालमोठ र कस्मेटिक सामानहरु रहेको उनले बताईन् ।

यसबाहेक पसलहरुमा मूल्यसूची तथा साईनबोर्ड नराखेको, पसल दर्ता नगरेको, मदिरा र खुद्रा पसल अलग–अलग राख्नुपर्नेमा एकैठाउँमा राखेको, ढक तराजु नविकरण नगरीएको, बिल लिनेदिने नगरेको लगायतका नियमहरु उलंघन गरेको पाईएको प्रशासकिय अधिकृत घिमिरेले बताईन् । पहिलो चरणमा उनीहरुलाई चेतावनी मात्रै दिईएको छ । ब्यापारीहरुलाई कमजोरीहरु सुधार गरेर कारोबार गर्न निर्देशन गरेको र अर्को पटक पनि सोही कमजोरी पाईए कार्बाही गरीने प्रशासकिय अधिकृत घिमिरेले बताईन् ।  । सधै अनुगमन बजार केन्द्रित तथा दशैतिहार लक्षित हुने गरेको आरोप लाग्ने गरेको भएपनि यसवर्ष भने, जिल्ला प्रशासन कार्यालयले नियमित तथा गाउँकेन्द्रित भएर पनि अनुगमन गरिरहेको छ ।

यसक्रममा गाउँका ब्यापारीहरु समेत सचेत भएको प्रशासन कार्यालयको दाबी छ । १० बर्षसम्म कोही नगएका गाउँहरुमा एक्कासी अनुगमन गर्दा गाउँका ब्यापारी पनि सचेत भएकाले  यसलाई निरन्तरता दिए उपभोक्ता ठगिने समस्या समेत हट्ने प्रशासकिय अधिकृत घिमिरेको दावि रहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!