सेक्युरेटी मजदुरहरुद्धारा मैन आन्दोलन सुरु

Posted on: 05 Apr, 2016

 चैत २३, मकवानपुर । मकवानपुरमा सेक्युरेटी सप्लायर्समार्फत कार्यरत सेक्युरेटी मजदुरहरुले हिजो वाट मौन(चुप) आन्दोलन थालेका छन् । सरकारले निर्णय गरेको न्युनतम पारिश्रमिक लागु गर्न माग गर्दै उनीहरुले सहकर्मी बाहेक अरुसँग नबोल्ने आन्दोलन थालेका हुन् । कार्यस्थलमा खटिएका सुरक्षा सहकर्मीसँग मात्र बोल्नें, माग पुरा नभएसम्म पेन डाउन गरी हाकिमलाई समेत सलाम नगर्ने कार्यक्रम रहेको मजदुरहरुले बताएका छन् । मकवानपुरका बिभिन्न उद्योगमा सुरक्षा ठेक्का पारेका फिस्टेल, स्वर्गद्वारी, एस टु, कान्तिपुर, गोर्खाली योद्धा, भुपु सैनिक, नवदुर्गा, कालिदेवी, ब्लु हेबन ठेकेदार कम्पनीले सरकारले बृद्धि गरेको न्युनतम पारिश्रमिक लागु नगरेको अखिल नेपाल सेक्युरेटी मजदुर संघका अध्यक्ष रबिन्द्र केसीले बताउनुभयो । गत चैत्र ११ गतेदेखि न्युनतम पारिश्रमिक लागु गर्न माग गर्दै आन्दोलन थालेकोमा न्युनतम पारिश्रमिक लागु नगर्ने उद्योगहरुमा दोस्रो चरणमा मौन आन्दोलन सुरु गरिएको केसीले जानकारी दिनुभयो । मकवानपुरका उद्योग तथा प्रतिष्ठानहरुमा २० वटा ठेकेदार कम्पनीमार्फत करिब चारसय सेक्युरेटी मजदुर कार्यरत छन् । मन्त्रीपरिषदले गत माघ १८ गते मजदुरहरुको न्युनतम पारिश्रमिक पाँच हजार एकसयमा एक हजार एकसय पाँच रुपैयाँ र महंगी भत्ता दुई हजार नौ सय रुपैयाँमा पाँचसय ९५ रुपैयाँ बृद्धि गरी एक हजार सातसय पारिश्रमिक बढाएर राजपत्रमा प्रकाशित गरेको थियो ।

- अन्देव कठायत बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!