गुल्मीको फरक मतसहित समितिले प्रस्ताव पठायो

Posted on: 10 Nov, 2016

कात्तिक २५, गुल्मी । गुल्मी जिल्लाको स्थानीय तह पुनःसंरचनाको खाकालाई दलहरुको फरक मतसहित प्राविधिक समितिले केन्द्रमा सिफारिस गरेको छ । 

जिल्लामा गठित कार्यदलले तयार पारेको खाकामा जिल्लास्थित राजनीतिक दलहरुको बीचमा सहमति जुट्न नसकेपछि प्राविधिक समितिले पार्टीहरुका फरक मतसहित नगरपालिका र गाउँपालिकाको सङ्ख्या, नाम र केन्द्रहरुको सिफारिस गरेको हो । 

एउटै खाका पठाउनका लागि लामो समयसम्म दलहरुबीच छलफल भएपनि दलहरु सहमतिमा पुग्न नसकेपछि आ–आफ्नो पार्टीको फरक मतसहितको खाका प्राविधिक समितिलाई बुझाएका थिए । जिल्लाको स्थानीय तह पुनःसंरचनाका लागि गठित कार्यदलको खाकामा नेपाली काँग्रेस र माओवादी केन्द्रको सहमति भए पनि केही केन्द्रहरुमा नेकपा (एमाले) लगायतका अन्य दलहरुले फरक प्रस्ताव राखेका छन् । 

स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले फरक प्रस्तावका बीच जिल्लालाई दुई नगरपालिका र १० गाउँपालिका निर्धारण गरी नामाकरण, वडा विभाजन र केन्द्रको सिफारिससमेत गरेको छ । स्थानीय तह पुनःसंरचनाकोे विषयलाई लिएर जिल्लाका केही क्षेत्रमा स्थानीयवासी आन्दोलित बनेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!