गाउँका समस्या समाधान गर्न अभियान चौतारी

Posted on: 17 Nov, 2016

प्रकाश धौलाकोटी/मङ्सिर २, तेह्रथुम । गाउँ घरम हुने विभिन्न समस्याहरुको आफैँ समाधान गर्न तेह्रथुमको ईवा–५, बरबोटेका महिलाहरु संगठित बनेका छन् । महिलाहरुले गाउँघरमा हुने महिला हिंसा, घरेलु हिंसा तथा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रका साझा समस्याहरुको समाधान गर्न बरबोटे अभियान चौतारी गठन गरेका हुन् । 

अभियान चौतारीको अध्यक्षमा नरमाया ईङनाम, उपाध्यक्षमा लिला ईङनाम, सचिवमा लिला धौलाकोटी र कोषाध्यक्षमा पदममाया तामाङ सहित २९ जना महिलाहरु सदस्य रहेका छन् । एक्सनएड अन्तराष्ट्रिय नेपालको सहयोगमा जिल्लामा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत अभियान चौतारी गठन गरिएको हो । 

अभियान चौतारीले हरेक महिनाको ३ र २३ गते भेला बसेर महिला अधिकार, बाल अधिकार, दलित अधिकार, शिक्षा अधिकार लगायत विभिन्न विषयहरुमा छलफल गरी राज्यबाट हरेक नागरिकले पाउने सेवा सुविधा प्राप्तिकालागि छलफल गर्ने साझेदार संस्था देउराली सोसाइटीकी सामाजिक परिचालक सनिसा भेटुवालले जानकारी दिनुभयो । 

हाल तेह्रथुमका आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, सक्रान्तिबजार र खाम्लालुङ गाविसमा समेत प्रत्येक गाविसमा ३ देखि ५ वटा सम्म अभियान चौतारी गठन गरी नागरिकका अधिकारका सवालमा छलफल र समाधान खोजिदै आएको छ । 

अभियान चौतारीमा छलफलपछि स्थानीय बासिन्दालाई राज्यबाट प्रदान हुने सेवा सुविधाबारे थाहा हुने र सेवा प्रदायक निकायमा नागरिकको पहुँच वृद्धि हुने देउराली सोसाइटीका नागरिक शिक्षा अधिकृत खगेन्द्र सापकोटाले बताउनुभयो । 

गाउँमा गठन भएका अभियान चौतारीले घरेलु हिंसा, महिला हिंसा, स्थानीय विद्यालय, संघसंस्थाको काम, योजना छनौट र सन्चालन, स्थास्थ्य चौकी, गाविस लगायतमा समान सहभागिताकोलागि छलफल गर्ने गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!