छातेढुंगामा दलित शशक्तिकरण समाज गठन

Posted on: 17 Nov, 2016

प्रकाश धौलाकोटी, मंसिर २, छातेढुंगा । तेह्रथुमको छातेढुंगा गाउँ विकास समितिमा भएको दलितहरुको आम भेलाले प्रेमबहादुर शिवाको अध्यक्षतामा १३ सदस्यीय छातेढुंगा गाउँस्तरीय दलित शशक्तिकरण समाज गठन गरेको छ ।

समाजको उपाध्यक्षमा देवीमाया रसाइली, सचिवमा नरेन्द्र शिवा, सहसचिवमा बुद्धिमान घतानी र कोषाध्यक्षमा आशा रम्तेल रहेका छन् । सदस्यहरुमा बलबहादुर घतानी, प्रेम घतानी, जगदिश तोलाङ्गी, शान्ता बराइली, नारायण पाँचकोटी र रुपा पाँचकोटी चयन भएको सामाजिक परिचालक रुपा कन्दङवाले जानकारी दिइन् । 

गाविसस्तरमा दलितहरुको सर्वदलीय नेटवर्क नहुँदा दलित अधिकारको सवाल पछि परेको भन्दै दलितहरुको भेलाले सर्वदलीय, सर्वपक्षीय समिति गठन गरेको हो । समिति नहुँदा गाविस तथा विभिन्न निकायबाट बिनियोजित लक्षित वर्ग अन्तर्गत दलितहरुको रकमले काम गर्न समस्या थियो । गाउँमा देउराली सोसाइटीले स्थानीय अधिकार कार्यक्रम सन्चालन गर्न थालेपछि दलितहरुले सर्वदलीय सर्वपक्षीय समिति बनाएका हुन् । 

अब यही समितिमार्फत गाविसमा दलित अधिकारका सवालहरु उठाइने र छलफल गरिने सामाजिक परिचालक कन्दङवाले बताइन् । समाज गठनसँगै अब गाउँस्तरीय कार्यक्रमहरुमा दलितहरुको सहभागिता समेत बढेर जाने आशा गरेका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!