दुईवटा एम्बुलेन्स महिनौँदेखि कवाडी अवस्थामा

Posted on: 28 Jul, 2017

साउन १३, महोत्तरी । प्राथमिक स्वास्थ्य केन्द्र सम्सी, महोत्तरीको प्राङ्गणमा लाखौँ मूल्य पर्ने दुईवटा एम्बुलेन्स राखिएका छन् तर व्यवस्थापन अभावमा ती एम्बुलेन्स कवाडमा परिणत भएका छन् । सम्सी अस्पतालका दुई एम्बुलेन्स सेवा सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् । 

सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा २०६५ सालमा युएनएफडिपिएबाट ज १ झ ३५९ नंको एम्बुलेन्स प्राप्त भएको थियो तर उचित व्यवस्थापन हुन नसक्दा तीनवर्ष नबित्दै अस्पतालको कुनामा थन्कियो । 

युएनएफडिपिएबाट प्राप्त सुविधासम्पन्न एम्बुलेन्स अस्पतालमा थन्किएपछि भारत सरकारको सहयोगमा २०६८ सालमा सम्सी अस्पतालमा ज १ च ६२६ नंको एम्बुलेन्स अनुदानमा आएको थियो । भारत सरकारको सहयोगमा सम्सी अस्पतालमा आएको एम्बुलेन्स पनि धेरै दिन चल्न सकेन । 

अस्पतालको कुनामा थन्केको युएनएफडिपिएबाट प्राप्त एम्बुलेन्ससँगै भारतको सहयोगमा उपलब्ध एम्बुलेन्स पनि थन्कियो । लामो समयसम्म मर्मत नभएर अस्पतालमा थन्केका लाखौँ मूल्यका दुवै एम्बुलेन्स कवाडीमा परिणत भएको हो । सम्सी स्वास्थ्य केन्द्रमा रहेका दुईवटा एम्बुलेन्स मर्मतको अभावमा कवाडी अवस्थामा परिसरको कुनामा अलपत्र परेपछि स्थानीयवासी मारमा परेका छन् । 

लाखौँ मूल्यको एम्बुलेन्स हजार दुई हजार खर्चको अभावमा मर्मत हुन नसक्दा कवाडीमा परिणत भएको अस्पतालका इन्चार्ज शिवकैलाश साहले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालयमा एम्बुलेन्स विषयमा जानकारी गराउँदा कुनै चासो नदिएको अस्पतालका इन्चार्ज साहले बताउनुभयो । एम्बुलेन्स अभावमा इमरजेन्सी भएका बिरामीले गाउँबाट आफैँले ल्याएको जीपमार्फत उपचारका लागि बाहिर लाने गरेको इन्चार्ज साहले बताउनुभयो । 

यता प्राथामिक स्वास्थ्य केन्द्र सम्सीको अस्पताल विकास समितिको लापरबाहीका कारण एम्बुलेन्स अस्पतालमा अलपत्र परेको जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद यादवले बताउनुभयो । अस्पताल विकास समितिलाई एम्बुलेन्स विषयमा जवाफ माग्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक महिनाअघि पत्र पठाएपनि जवाफ नआएको प्रमुख यादवले बताउनुभयो । 

जिल्लामा ४ वर्षदेखि एम्बुलेन्स सञ्चालन समितिको बैठक नहँुदा राजनीतिक पहुँचको अधारमा एम्बुलेन्स अनुदानमा लिएर कतै अलपत्र, कतै दुरुपयोग हुने गरेको प्रमुख यादवले बताउनुभयो । बिरामी उपचारका लागि २०५५ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्र, सम्सी पछिल्लो समयमा आएर कुशल व्यवस्थापकको अभावका कारण लथालिङ्ग बन्दै गएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!