हात्ती नियन्त्रणका लागि गाउँपालिकाको पहल

Posted on: 01 Jan, 2018

पुस १७, झापा । झापाको हल्दिबारी गाउँपालिकाले हात्ती नियन्त्रणका लागि विभिन्न योजना अघि सारेको छ । 

गाउँपालिकाले हात्ती नियन्त्रणका लागि जलथलको जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गरेको छ । हात्तीले वर्षेनी लाखौँ मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पु¥याउँदै आएकाले नियन्त्रणका उपाय अवलम्बन गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताउनुभयो । 

उहाँका अनुसार हात्ती नियन्त्रणका लागि रु ४५ लाख विनियोजन गरिएको छ । रु १८ लाखको लागतमा विद्युतीय तारबार, जंगल क्षेत्रभित्र बाटोसँगै कुलो निर्माणका लागि रु २७ लाख रकम विनियोजन गरिएको छ । 

“कुलो निर्माणपछि हात्ती नियन्त्रणको काम थप प्रभावकारी हुनेछ”– उपाध्यक्ष गिरीले भन्नुभयो, “हरेक वर्ष हात्तीको समस्या झेल्दै आएको यो क्षेत्रका एक हजार घरधुरीको संरक्षणका लागि गाउँपालिका अग्रसर भएको छ ।” 

जंगलमा निर्माण गरिने बाटोमा विद्युत् विस्तार गरेर वन क्षेत्रलाई झलमल्ल बनाउने कार्य भइरहेको छ । गाउँपालिकाले हात्ती निणन्त्रणका लागि योजना अघि सारेपछि स्थानीयवासी खुशी भएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!