नवलपरासीमा गाउँ बाहिरकाले टेण्डर हालेको भन्दै गाउँपालिका कार्यालय तोडफोड

Posted on: 02 Feb, 2018

माघ १९, नवलपरासी । नदीजन्य वस्तुको निकासीका लागि बाहिरका मान्छेले ठेक्का हालेको भन्दै स्थानीय वासिन्दाले नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् ।

विनयी खोलाबाट नदीजन्य वस्तु निकासीका लागि कोटेशन भर्ने क्रममा गाउँपालिका बाहिरकाले ठेक्का हालेको भन्दै उनीहरुले तोडफोड गरेका हुन् ।

बिहीबार चितवनको एउटा कम्पनीले टेण्डर भरेपछि शुक्रबार स्थानीयले विरोध गर्दै तोडफोड गरेका हुन् । उनीहरुले स्थानीयले मात्रै टेण्डर हाल्न पाउनु पर्ने माग गरेका छन् ।

तोडफोडपछि ठेक्का रद्द गरिएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए । नदीजन्य वस्तुको निकासीका लागि ठेक्का लगाउन शुक्रबार अन्तिम दिन हो । स्थानीयले तोडफोड गरेर बलजस्ती गरी कागजपत्र नियन्त्रणमा लिएपछि ठेक्का रद्द गरिएको हो ।

तोडफोडबाट ३ वटा झ्यालको सीसा फुटेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताए ।

स्थानीयले ढोकाको ताला फोडी कागजपत्रसमेत नियन्त्रणमा लिएका छन् । प्रशासकीय अधिकृत बस्यालले अब पुन प्रक्रिया गरेर ठेक्का खोलिने बताए ।

विनयी खोलाको बालुवा, गिटी र ढुंगा निकासीका लागि गाउँपालिकाले खोलालाई ६ खण्डमा विभाजन गरी न्युनतम एक करोड २४ लाख रुपैयाँमा टेण्डर आहृवान गरेको थियो ।

नवलपुरासी पूर्वमा अहिले धमाधम खोला तथा नदीको नदीजन्य वस्तुको निकासीका लागि ठेक्का खुलेको छ । जसमा कावासोतीको केरुङे खोला र मध्यविन्दु नगरपालिकाको अरुणखोलामा ठेक्का स्वीकृत भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!