खुलेआम गुड्ने भारतीय नम्बर र अन टेस्ट सवारीसाधनहरुमा कडाइ गरिने

Posted on: 06 Jun, 2018

जेठ २३, सर्लाही | सर्लाहीका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले जिल्लामा खुलेयाम गुडिरहेका भारतीय नम्बर प्लेटका सवारी साधनमा कडाई गरिने बताउनुभएको छ ।

उहाँले यस बिषयमा एक साता भित्र सर्बदलिय बैठक राखेर आवश्यक गृहकार्य थालीने बताउनुभएको छ । धेरै समय अगाडि देखि जिल्लामा यस विषयले चर्चा पाईरहेको छ । केही समय अगाडी भारतीय नम्बर प्लेट तथा अन टेस्ट गाडीको अवाञ्छित प्रयोग बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले त्यस्ता सवारी साधनहरुलाई जहाँ भेट्यो त्यहीँ बाट कारवाही गर्ने बताएको थियो र एकदिनको लागि गरेको पनि थियो ।

जिल्लामा घटेका आपराधिक घटनाहरुमा भारतीय नम्बर प्लेट र अनटेस्ट गाडीको संलग्नता पाइएपछि जिल्ला प्रहरी कार्यालय सर्लाही बाट खटिएका शुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले त्यस्ता गाडीहरुको प्रयोगमा कडाई गर्ने बताइए पनि अहिले सम्म उक्त निर्णयको प्रभावकारी कार्यान्वयन नभएको समाजसेवी सत्यनारायण यादवले बताउनुभयो ।

खुला सीमानाको फाइदा उठाउँदै भारतबाट नेपाल भित्रिएका सवारी साधनको मद्दतले जिल्लामा अपराधिक क्रियाकलापहरु बढेको धेरैले अनुमान गरेका छन । जिल्लामा घटेका लुट, हत्या, अपहरण, गोलीकाण्ड, लागुऔषध ओसार (पसार र दुर्घटना जस्ता आपराधिक गतिविधीहरुमा भारतीय र अनटेस्ट सवारीक साधनको संलग्नता रहेको पाइए पनि जिल्लामा हाल सम्म त्यस्ता सवारिलाई नियमन गर्ने निकाय मौन देखिन्छन् ।

प्रजिअ पोखरेलले त्यस्ता सवारीसाधनहरुलाई कारवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई खवर गरिसकेको साथै सम्बन्धित सबै निकायमा पनि यस बिषयमा जानकारी गराउन र सतर्क रहन निर्देशन समेत दिइसकेको बताउनुभयो । अबको एक साताभित्र सर्वदलिय बैठक बसी सम्बन्धित सबै निकायमा खबर गरि ८ देखि १० दिनको भित्रमा कारवाही प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!