विस्फोट पर्दाथ र करेन्ट प्रयोग गरी माछा मारिँदै

Posted on: 17 Nov, 2018

मङ्सिर १, डोटी | यहाँस्थित सेती नदीलगायत अन्य ग्रामीण भेगमा रहेका नदी र खोलामा केही समययता विस्फोटक पदार्थ (लोला,जिलेटिन) र करेन्टको प्रयोग गरी माछा मार्ने क्रम तीव्र बनेको छ । 

सेती नदी तथा स्थानीय खोलामा विस्फोटक पदार्थ तथा करेन्ट प्रयोग गरी माछाका प्रजाति नै सखाप पार्ने काम भइरहेको स्थानीयवासीले बताएका छन् । धेरै जसो खोलामा सोलार ब्याट्री र तारको जोहो गरी माछा मार्ने गरिएको तथा नदीमा विस्फोटक पदार्थको प्रयोग गरी माछा मार्ने काम भइरहेको नारीदाङका स्थानीयवासी करवीर साउदले बताउनुभयो । 

स्थानीयवासीका अनुसार विस्फोटक पर्दाथ प्रयोग गरी माछा मार्नेमा यहाँका स्थानीयवासीसँगै सडक तथा अन्य संरचना निर्माणमा संलग्न मजदूर, प्रहरी र निर्माण व्यवसायी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जिल्लाका नदी तथा खोलामा विस्फोटक पदार्थ प्रयोग गरी तथा करेन्ट लगाएर माछा मार्ने काममा कडाइ गरिएको जानकारी दिनुभयो । 

कसैले खोला तथा नदीमा गैरकानूनी रुपमा माछा मार्ने गरेको पाइए नजिकको प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभएको छ । यसरी माछा मार्ने क्रम तीव्र बनेपछि अहिले जिल्लाका खोला र नदीमा माछाका भुरा मात्र नभइ अन्य जीवजन्तुसमेत प्रर्याप्त मात्रामा देखिन छाडेका स्थानीयवासी बताउँछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!