ब्रह्मदेव बजारमा सरसफाई कार्यक्रम

Posted on: 01 Dec, 2018

मङ्सिर १५, महेन्द्रगर | भीमदत्त नगरपालिका वडा नं. ९ ब्रह्मदेब बजारमा सरसफाई गरिएको छ । समुदाय प्रहरी पालिका समिति भीमदत्त नगरपालिकाकाको साप्ताहिक बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम अन्र्तत शनिबार ब्रह्मदेब बजारमा सफाई गरिएको छ ।

ब्रह्मदेब बजारस्थित सिद्धनाथ मन्दिरको प्राङ्गणबाट सुरु गरी बजारका विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ ।

कार्यक्रममा पालिका समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, भीनपा नगर उप प्रमुख सुशिला चन्द सिह, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायत, नगर प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. ९ का वडा अध्यक्ष राम नाथ, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा सहित जनप्रतिनिधि, विद्यार्थी, स्थानीय सहभागी भएका छन् ।

भीमदत्त नगरलाई ग्रिन सिटी क्लिन सिटी बनाउने कार्यक्रम अन्र्तगत नगरपालिका क्षेत्रमा साप्ताहिक रुपमा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

बजार क्षेत्रमा सरसफाई कार्यक्रमपछि भीमदत्त चोकमा कार्यक्रम समापन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख चन्दले कार्यक्रम समापन गर्र्दै सरसफाई अभियानमा सहभागी सबैलाई धन्यवाद दिइन् ।

‘यो कार्यक्रम हरेक हप्ता शनिबार सञ्चालन गर्दै आएका छौ, आज ब्रह्मदेबमा गरिएको छ, यसले यहाँका स्थानीयलाई फाइदा पुग्छ’ नगर उप प्रमुख चन्दले भनिन्,‘यो कार्यक्रममा आएर सबैले सहयोग गर्न भयो, यसका लागि भीमदत्त नगरपालिका कार्यालयको तर्फबाट धन्यवाद दिन चाहन्छु, र आगामी दिनमा सबैको साथ र सहयोग हुने आशा राखेका छौ ।’

ब्रह्मदेबको सिद्धनाथ मन्दिरमा बर्सेनी हजारौ दर्शनार्थी आउने भएकाले ब्रह्मदेब बजारलाई सफा र स्वच्छ राख्न आवश्यक भएको उल्लेख गदैै नगर उप प्रमुख चन्दले आफ्नो घरजस्तै सफा राख्नु पर्ने बताइन् । 

‘यहाँ मन्दिर छ, दर्शनार्थी आउँछन्, त्यसैले पनि यस क्षेत्रलाई सफा र स्वच्छ बनाउन आवश्यक छ’ नगर उप प्रमुख चन्दले भनिन्,‘जसरी आफ्नो घर सफा बनाउँछौ, त्यसैगरी वरपर पनि त्यसैगरी सफा र चिटिक्क बनाऔ ।’

नगर उप प्रमुख चन्दले सरसफाई कार्यक्रम सफल बनाउन नगर क्षेत्रका सबै महिलालाई सहभागी हुन आव्हान गरेकी छन् । ‘यो कार्यक्रममा महिला सहभागिता छ, दिदी बहिनी सबै कार्यक्रममा सहभागी बनौ, कार्यक्रम सफल बनाउन आव्हान गर्छु’ नगर उप प्रमुख चन्दले भनिन् ।

वडा अध्यक्ष नाथले बृहत सरसफाई कार्यक्रमले स्थानीयमा सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्दै वडा कार्यालयले सरसफाई कार्यक्रमलाई निरन्तरता दिने बताए ।

सरसफाई कार्यक्रममा सिद्धनाथ मन्दिर संरक्षण, प्रगति युथ क्लब, स्टेप क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका संस्थाले ऐक्यवद्धता जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कडायतले नगरपालिका र प्रहरी दुबैले सरसफाई कार्यक्रमलाई निरन्तरता दिने बताए ।

‘सरसफाई सम्बन्धी वासिन्दालाई मोटिभेसन गर्नका लागि जनचेतना मुलक सरसफाई कार्यक्रम गरिएको छ, यसलाई निरन्तरता दिएर जान्छौ’ प्रहरी उपरीक्षक कडायतले भने,‘यसबाट फोहर फाल्ने बानीमा सुधार आउँछ, त्यसका लागि मोटिभेसन आवश्यक छ ।’

प्रहरी उपरीक्षक कडायतले जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालनपछि वडा स्तरमा कार्यक्रम सञ्चालन हुन लागेको बताए । ‘अहिले वडा नं. ६ र १० मा कार्यक्रम सञ्चालन गरिएको छ, अन्य वडामा पनि कार्यक्रम सुरु हुन्छ, यसरी बानी सुधार भएर सबै वडामा स्वतः कार्यक्रम सुरु हुन्छ, त्यसले सरसफाईमा सहयोग पुग्छ ।’

ब्रह्मदेब बजारकी होटल व्यवसायी प्रभा बोहराले बृहत सरसफाई कार्यक्रमको प्रशंसा गर्दै यसले सरसफाई सम्बन्धी स्थानीयमा सकारात्मक सन्देश प्रवाह भएको बताइन् ।

सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष केशव सिह नायकले मन्दिर क्षेत्रको फोहर व्यवस्थापनका लागि विगतदेखि सफाई कर्मचारी राख्दै सरसफाई गर्दै आएको उल्लेख गर्दै बजार क्षेत्रमा सरसफाईका लागि सबै व्यवसायीले एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

‘आजको कार्यक्रमले निकै सकारात्मक सन्देश प्रवाह भएको छ, बजार क्षेत्र सबैले सफा राख्नु पर्छ,’ अध्यक्ष नायकले भने,‘स्थानीयको तर्फबाट हुने सबै सहयोग गर्छौ ।’

सरसफाई कार्यक्रममा निरन्तर रुपमा सहभागी हुँदै आएको सामुदायिक प्रहरी सेवा केन्द्र र स्टेप क्लबका प्रतिनिधिले नगर सफा बनाउने अभियानलाई पूर्ण रुपमा साथ दिने बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव बिमल खडायतले बृहत सरसफाई कार्यक्रम भीमदत्त नगरपालिका मात्रै नभएर जिल्लाभर विस्तार गरिनु पर्ने बताए ।

‘यो कार्यक्रम एकदमै उपयुक्त छ, यसलाई अब भीमदत्तमा मात्रै होइन, जिल्लाभर विस्तार गर्नु पर्छ,’ उनले भने,‘फोहर उठाएर व्यवस्थापन गर्ने भन्दा पनि चेतना बढाएर फोहर फाल्ने अवस्था अन्त्य गर्नु आवश्यक छ ।’

ब्रह्मदेब बजारको सिद्धनाथ मन्दिरमा दर्शनार्थीले विदेशमा सकारात्मक सन्देश लैजाने भएकाले बजारलाई सधैं सफा र स्वच्छ राख्नु पर्ने सचिव खडायतले बताए ।


स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकामा विकास निर्माण कार्यले तीव्रता पाएको उल्लेख गर्दै सचिव खडायतले फोहर व्यवस्थापनका लागि बृहत अभियान थालिएको सचिव खडायतले नगरपालिकालाई पूर्ण रुपमा साथ दिने बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको स्टेप क्बलका सदस्य संगिता पालले आफ्नो क्षेत्र आफैं सफा राख्नु पर्ने भएकाले आफूहरु सरसफाई अभियानमा सहभागी भएको बताइन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको स्टेप क्बलका सदस्य संगिता पालले आफ्नो क्षेत्र आफैं सफा राख्नु पर्ने भएकाले आफूहरु सरसफाई अभियानमा सहभागी भएको बताइन् ।

‘आफ्नो घर ठाउँ आफैंले सफा राख्नु पर्छ, हामी बस्ने वातावरण सफा राख्न सरसफाई आवश्यक छ’ उनले भनिन्,‘स्वस्थ रहनका लागि समेत वातावरण सफा र स्वस्थ हुनु पर्छ ।’

स्टेप क्लबका अध्यक्ष भोजराज भट्टको नेतृत्वमा क्लबका सदस्यहरु सरसफाई कार्यक्रममा सहभागी छन् । अध्यक्ष भट्ट पालिका समितिमा सदस्य छन् ।

भीनपा कार्यालयका वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापन उप शाखाका प्रमुख पुष्पराज भट्टले आगामी शनिबार भीनपा ८ तिलाचौरमा सरसफाई कार्यक्रम गरिने जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!