घाइते बोकेर आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा ५ गम्भीर घाइते

Posted on: 26 Jan, 2019

माघ १२, भक्तपुर । सिराहा लहानबाट सवारी दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि काठमाडौँ ल्याउँदै गरेको एम्बुलेन्स भक्तपुरमा दुर्घटना हुँदा त्यसमा सवार पाँच जना गम्भीर घाइते भएका छन् । 

घाइते बोकेर आउँदै गरेको ज१च १४९० नं को यादव सेवा समाजको एम्बुलेन्स भक्तपुर सूर्यविनायक नगरपालिका–१० साँगा मुसे गणेश मन्दिर नजिकै सडकबाट १०० मिटरभन्दा तल खोल्सामा खस्दा उनीहरु घाइते भएका हुन् । 

घाइते हुनेमा एम्बुलेन्स चालक दोलखा सिँगटी घर भई हाल काठमाडौँ जिल्ला कपन बस्ने २५ वर्षीय सन्तोष तामाङ, सर्लाही लालबन्दी नगरपालिका–१४ घर भई हाल काठमाडौँ कपन बस्ने २१ वर्षीय वीरबहादुर लुङ्गेली, उदयपुर कटारी बस्ने ३५ वर्षीय मोहनबहादुर न्यौपाने, धनुषा ढल्केबर बस्ने ७१ वर्षीय झलकबहादुर खड्का, सोही ठाउँका ३७ वर्षीय घनकुमारी खड्का र ७१ वर्षीय बाटुला खड्का रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

घाइतेमध्ये एम्बुलेन्स चालक तामाङको मध्यपुर अस्पताल ठिमीमा उपचार हुन नसकेपछि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अन्य घाइतेलाई इवामुरा अस्पतालमा उपचार हुन नसकेपछि न्यूरो अस्पताल बाँसबारी पठाइएको उहाँले जानकारी दिनुभयो । 

सिराहा लहानबाट घाइते झलकबहादुर खड्का र आफन्तलाई लिएर आएको एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!