अधिकारसंगै कर्तव्यबोध गर्नु पर्नेमा जोड

Posted on: 08 Mar, 2019

फागुन २४, सुर्खेत । कर्णाली प्रदेशका समाजिक मन्त्री दल रावलले अबका दिनबाट कर्णालीका महिलाहरुका हक, अधिकार सुनिश्चित हुँदै जाने बताएका छन् । समाजिक विकास मन्त्रालयद्धारा १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा वीरेन्द्रनगरमा शुक्रबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक विधामा आवद्ध महिलाले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्नुपर्ने बताए ।


मन्त्री रावलले श्रीमान् र श्रीमतीको समान व्यवहार भएमा मात्र एक अर्काेप्रतिको सम्मान हुने बताउँदैे महिला हिंसा सुरुवात आआफ्ना घरबाट नै हटाउनुपर्ने जरुरी रहेको बताए । उनले आगामी दिनमा हालसम्म महिला अधिकारका क्षेत्रमा प्राप्त अधिकार रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै लैङ्गिक समानताका लागि घरपरिवारदेखि परिवर्तनको सुरुवात गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री विमला केसीले महिला दिवस वर्षमा एक दिन मनाएर सकारात्मक परिवर्तन नआउने बताउँदै महिला सहभागिताविना दिगो शान्ति र विकास सम्भव नहुने धारणा व्यक्त गरिन् । उनले राज्यले श्रमिक महिलाहरुका हितमा काम गर्न आवश्यकता रहेको बताइन् । उनले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्ने बताइन् ।

सो अवसरमा कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तिले कोठा कोठामा महिला दिवस मनाएर मात्रै नभएर महिलाहरुले आफ्नो हक र अधिकारका निमित्त लड्नु पर्ने धारणा व्यक्त गरिन् । उनले महिलाहरुले आफुलाई सशक्त बनाउनका लागि आर्थिक रुपमा बलियो हुनपर्ने भन्दै महिलाहरु घरको चुलोचौकोमा मात्रै सिमित भएर मात्रै हक अधिकार नआउने बताइन् । संविधानले सुनिश्चित गरेको अंशीय वंशीय अधिकार व्यवहारमा कार्यान्वयन गर्न अहिले भइरहेका प्रयासमा आम महिलाको चासो सकारात्मक रहेको उनको भनाइ छ ।

कार्यक्रममा सरोकारवाला र मानवअधिकार कर्मीहरुले गाउँ घरमा विद्यमान महिलाविरुद्धका अन्धविश्वास तथा कुप्रथा अन्त्य गर्नका लागि महिला शिक्षामा लगानी बढाउन जरुरी रहेको बताए । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार – समृद्धिको आधार’ भन्ने नाराका साथ महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!