पोखरा महानगरपालिकामा सहमतिपछि ताला खुला

Posted on: 28 Jun, 2019

असार १३, पोखरा  पोखरा महानगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षले बिहीबारदेखि लगाएको ताला सहमति पछि खोलिएको छ ।

काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै ताला लगाइएकामा आज सहमतिपछि खोलिएको वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले जानकारी दिनुभयो ।

बुधबारको नगरसभा बैठकमा काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रातो किताब च्यातेका थिए ।

आफूहरूको मागका सम्बन्धमा महानगर प्रमुख मानबहादुर जिसीले बार्तामा बोलाउनुभएको र नसमेटिएका योजना समेट्ने सहमति भएपछि ताला खोलिएको वडा अध्यक्ष लामिछानेले बताउनुभयो ।

महानगरले रु सात अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ जसमध्ये ३६ प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा छुट्याइएको छ । 

पर्यटक बसका चालक र सहचालकलाई तालीम

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा  पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवं सहचालकलाई तालीम दिइएको छ । पर्यटक आउँदा वा जाँदा पहिलो र अन्तिम सम्पर्क व्यक्ति चालक एवं सहचालक हुने भएकाले उनीहरूलाई पर्यटकसँग गरिने व्यवहार, आतिथ्यता, अत्यावश्यकीय प्राविधिक जानकारीलगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका निर्देशक मणि लामिछानेले पर्यटकका लागि आउँदाजाँदा पहिलो वा अन्तिम सम्पर्क व्यक्ति चालक, सहचालक हुने भएकाले उनीहरूको व्यहारले घुम्ने स्थानका सम्बन्धमा पर्यटकले धारणा बनाउने बताउनुभयो । चालक, सहचालकलाई पर्यटनको अवैतनिक राजदूतका रूपमा चित्रण गर्दै उहाँले उनीहरूको व्यवहार एवं बोलिचालीले पर्यटकको बसाइ लम्ब्याउने वा छोट्याउने कुरामा निर्भर गर्ने धारणा राख्नुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले चालक, सहचालकको बोली एवं व्यवहारले कुनै पनि पर्यटकीयस्थल एवं समग्र राष्ट्रलाई प्रभाव पार्ने उल्लेख गर्नुभयो । पर्यटकको बसाइ अधिकतम लम्ब्याउने कुरामा चालक, सहचालकको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

पर्यटक सवारीसाधन चलाउँदै आएका १५६ चालक र सहचालक सहभागी प्रशिक्षणमा चार प्रशिक्षकले विभिन्न विषयमा जानकारी गराउनुभएको पर्यटन यातायात समिति पोखराका महासचिव नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थललियाले अतिथि सत्कार, प्रहरी सहायक निरीक्षक लोकराज भण्डारीले ट्राफिक नियम, सिप्रदी टे«डिङ पोखराका इन्चार्ज सञ्जय विष्टले प्राविधिक विषय र डा मुकेश मल्लिकले उच्च चापीय क्षेत्रमा अपनाउनुपर्ने स्वास्थ्य सजगतालगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । पर्यटन यातायात समिति, पोखरामा ४५० पर्यटक बस र १२८ व्यवसायी आबद्ध छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!