पूर्वखोलालाई कागती र सुन्तला क्षेत्र बनाइने

Posted on: 04 Jul, 2019

असार १९, रामपुुर । पाल्पाको पूर्वखोला गाउँपालिकालाई सुन्तला तथा कागतीखेतीको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । स्थानीय कृषकलाई फलफूल खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले पकेट क्षेत्र विकास कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । 

यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा सुन्तला, कागती, अलँैची र कफीका बिरुवा वितरण गरिएको छ ।

सो गाउँपालिका– ३ रिङ्नेरह र वडा नं ६ को हेक्लाङ क्षेत्रमा कागती, वडा नं ५ वीरकोट र वडा नं १ को सिलुवा क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्रका रुपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । 

गाउँपालिकाका कृषि प्राविधिक सन्तोष कँडेलले गाउँपालिकाभरि १० हजार सुन्तला, १० हजार कागती, एक हजार ५०० अलैँची र एक हजार ५०० कफीका बिरुवा वितरण गरिएको अध्यक्ष थापाको भनाइ छ । उहाँका अनुसार २० प्रतिशत समूहले सामूहिक खेती गर्ने र ८० प्रतिशतले व्यक्तिगत तवरबाट खेती गर्ने गर्नेछन् । 

गाउँपालिकाको देविनगर, जल्पा र हेक्लाङ क्षेत्रमा अलैँची र कफीको पकेट क्षेत्र बनाउनका लागि सम्भाव्यता अध्ययन गरिने योजना रहेको सो गाउँपालिकाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!