दुर्घटनामा दुई जनाको मृत्यु

Posted on: 20 Jul, 2019

साउन ४, सर्लाही | छुट्टाछुट्टै दुर्घटनामा परी आज यहाँ दुई जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–१० मा करेन्ट ३५ वर्षीय काजीमान बुढाथोकीको मृत्यु भएको छ । स्थानीयवासी गणेश भट्टराईको लेथ मेसिनमा काम गर्ने क्रममा बुढाथोकीलाई करेन्ट लागेको हो । उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।  

यस्तै मलङ्गवा–४ मा ट्र्याक्टरबाट लडेर एक बालकको ज्यान गएको छ । मलङ्गवा–३ का आठ वर्षीय मनिष यादवको मृत्यु भएको हो । ज२त ८५२ नंको ट्र्याक्टरमा गणेशियातर्फ जाँदै गरेका लडेर घाइते भएका थिए । उनको उपचारका लागि सर्लाही अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । 

बाढीपीडितलाई सहयोग

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई आज राहतस्वरुप त्रिपाल र शैक्षिक सामग्री वितरण गरिएको छ ।

बाढीबाट अति प्रभावित तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं ४ स्थित तेलयारी, चट्टी, नवटोलिया र गोरिहारीटोलमा ग्लोबल आईएमई बैंकले राहत वितरण गरेको हो । पीडित परिवारलाई जनही एक/एक थान त्रिपाल र बालबालिकालाई कपी, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार सामाजिक उत्तरदायित्व तथा परोपकारी कामअन्तर्गत राहत उपलब्ध गराइएको हो । राहत वितरण गर्दै बाढीपीडितलाई सहयोग गरेकामा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बैंकलाई धन्यवाद दिनुभयो ।

असार तेस्रो साताको अबिरल वर्षापछि सप्तकोशी नदीलगायत त्रियुगा, खाँडो, महुली, जिता, खडग, सुनदरी, बिहुललगायतको विभिन्न खोलामा आएको बाढीका कारण सप्तरीको तिलाठी कोइलाडी, सप्तकोशी, हनुमाननगर कङ्कालिनी, तिरहुत, बोदे बर्साइन, बलान बिहुल बढी प्रभावित बनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!