पाकिस्तानमा सैनिक विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु

Posted on: 30 Jul, 2019

साउन १४, रावलपिन्डी, पाकिस्तान, रासस -एएफपी । पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । 

सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो । 

सो दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताउनु भएको छ । 

राजधानी इस्लामाबादनजिकै भएको यस दुर्घटनामा १२ सर्वसाधारण पनि घाइते भएका छन् । सबै शव नराम्ररी जलेकाले परिचय खुलाउन डिएनए परीक्षण गर्नु पर्ने अवस्था रहेको बुटाले जानकारी दिनुभयो । 

एक स्थानीय वासिन्दाका अनुसार मङ्गलबार बिहान २ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो । ठूलो आवाजका साथ भएको विस्फोटका कारण आफू निद्राबाट ब्युँझिएर घरबाहिर गएर हेर्दा आगलागी भइरहेको मोहमद सदिकले बताउनु भएको छ । 

विमानमा सवार कतिपयले सहयोगका लागि चिच्चाएका र उनीहरुको सहयोगको प्रयास गरिएको तर सम्भव नभएको सदिकले बताउनुभयो । उहाँका अनुसार सो दुर्घटनामा एकै परिवारका सात जनाको ज्यान गएको छ । 

सेनाको सूचना शाखाका अनुसार यो सैनिक विमान नियमित प्रशिक्षणमा रहेको थियो । उद्धारकर्मीहरूले  आगलागी नियन्त्रणमा लिई घाइतेलाई स्थानीय अस्पतालमा पु¥याएका थिए । 

यस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारजनप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गहिरो समवेदना प्रकट गर्नु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!