शिक्षण अस्पतालमा तेस्रो कलेजो प्रत्यारोपण सफल

Posted on: 19 Oct, 2019

कात्तिक २, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ । शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उहाँका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण सफलता प्राप्त गरेको हो ।  

प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रत्यारोपण चिकित्सक प्राडा रमेशसिंह भण्डारीको टोलीले करीब आठ घण्टा लगाएर सो प्रत्यारोपण गरेको थियो । प्राडा भण्डारीका अनुसार अस्पतालमा यो प्रत्यारोपण तेस्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो । 

गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण भएको थियो । पहिलो प्रत्यारोपणमा ३३ वर्षीया छोरीले ५८ वर्षीय आफ्ना पितालाई कलेजो दिएकी थिइन् । “हामी अस्पतालमा कलेजो प्रत्यारोपणलाई नियमित बनाउने तयारीमा छाँै, महिनामा कम्तिमा एउटा कलेजो प्रत्यारोपणको लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो । 

विदेशको तुलनामा नेपालमा कलेजो प्रत्यारोपण कार्य सस्तो छ । प्राडा भण्डारीका अनुसार करीब रु २५ लाखमा कलेजो प्रत्यारोपण गर्न सकिने छ । आफ्ना परिवारभित्रका सदस्यले मात्र कलेजोदान गर्न सक्ने कानुनी प्रावधान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!