विज्ञान र प्रविधि क्षेत्रमा लगानी बढाउने प्रमको प्रतिबद्धता

Posted on: 10 Nov, 2016

कात्तिक २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा यहाँ आज आयोजित ‘नेपालमा वैज्ञानिक अन्वेषण : सम्भावना र चुनौती’ विषयको एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विगतमा विज्ञानको क्षेत्रमा बजेटको व्यवस्था नगरिएको सन्दर्भमा आफूले पूरक बजेट ल्याएर भए पनि यस क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो । 

प्रधानमन्त्री दाहालले संविधान जारी भइसकेको अवस्थामा त्यसलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयन गर्दै देशलाई आर्थिक र सामाजिकका साथै विज्ञान र प्रविधिको विकासतर्फ समेत मुलुकलाई उन्मुख गर्ने सरकारको तयारी रहेको बताउनुभयो । 

उहाँले नेपालमा हरेक क्षेत्रमा विकासका सम्भावना विद्यमान रहेको बताउँदै त्यसलाई उजिल्याउन असल राजनीतिक नेतृत्वले अग्रसरता लिनुपर्ने खाँचो औँल्याउनुभयो । 

उहाँले भन्नुभयो – “हामीसँग जनशक्ति नभएको होइन, नेपाल स्रोत साधनले सम्पन्न छ । त्यसको सदुपयोग हुन नसकेको मात्र हो । अब आफ्नै स्रोत साधनबाट स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्छ ।” 

व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले रोजगारीका लागि युवालाई विदेश पठाउनेभन्दा पनि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 

सङ्गठनका अध्यक्ष नरेश भण्डारीले विज्ञान र प्रविधिको विकासका लागि राज्य उदासीन देखिएको गुनासो गर्नुभयो । 

एक दिवसीय गोष्ठीमा विज्ञान र प्रविधिसम्बन्धी तीन वटा कार्यपत्रमाथि छलफल गरिनेछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!