देउखुरीको सिसहनिया गाउँपालिका माग गर्दै ज्ञापनपत्र

Posted on: 01 Mar, 2017

सन्तोषकुमार गुप्ता | फागुन १८, देउखुरी | देउखुरी स्थित सिसहनिया गाविसबासीहरुले सिसहनिया गाविसलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । सिसहनिया उद्योग बाणिज्य संघको नेतृत्वमा बुधबार घोराही पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो । 

उद्योग वाणिज्य संघको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयबासीहरुले लालमटिया र हाँसीपुर गाविसमा सिसहनिया गाविसलाई मिलाउँदा भौगोलिकरुपमा नमिल्ने र यसरी बनाइएको राप्ती गाउँपालिकाको केन्द्र मौरीघाट तोक्ने कार्यले सिसहनिया गाविसलाई पछाडि पार्ने भन्दै उक्त निर्णय सच्याउदै सिसहनिया गाविसलाई छुट्टै गाउँपालिका घोषणा गर्न माग गरेका हुन् । सिसहनिया उद्योग वाणिज्य संघको पहलमा मंगलवार सर्वदलीय बैठक बसी सिसहनिया गाविसलाई आदिबासी जनजाति (थारु) विशेष संरक्षित सिसहनिया गाउँपालिका क्षेत्र घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन आएको सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले बताए । उक्त पुरानो निर्णयलाई सच्याउदै नयाँ गाउँपालिका घोषणा गर्नुपर्ने भन्दै उक्त निर्णय दुई दिनभित्र नसच्याए कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु चरणबद्धरुपमा गर्ने बुढाथोकीले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,संघीय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पाटी, थरुहट तराई पाटी, संघीय समाजवादी पार्टी, नयाँ शक्ति पार्टी, युवा सञ्जाल लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!