मोदीको जीवनीमा आधारित चलचित्र चुनाव अगाडि प्रदर्शन नहुने

Posted on: 25 Apr, 2019

वैशाख १२, नयाँ दिल्ली (रासस/एएनआई) | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र ‘पिएम नरेन्द्र मोदी’ निर्वाचन नसकिँदासम्म प्रदर्शन नहुने भएको छ । 

सो चलचित्र प्रदर्शनमा रोक लगाउन माग गर्दै उजुरी परेपछि रोक लगाइएकोमा निर्वाचन अगाडी नै फुकुवा हुने सम्भावना नरहेको निर्वाचन आयोग श्रोतले जनाएको छ ।  

स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सो चलचित्रले असर पार्ने भन्दै मोदीका विपक्षीहरू निर्वाचन आयोग र अदालतमा पुगेका थिए ।

“निर्वाचन आयोगले निर्वाचन सकिनु अगाडि अर्थात् आउँदो मे १९ अगाडी सो चलचित्र प्रदर्शन गर्न दिननहुने पक्षमा रहेको छ,” श्रोतले एएनआईसँग भन्यो ।

निर्वाचन आयोगले यो चलचित्र प्रदर्शन गर्ने दिने की नदिने भन्ने बारेमा तयार पारेको एक प्रतिवेदन सर्वोच्च अदालतलाई बुझाएको छ । प्रतिवेदनमा चलचित्र निर्वाचन अगाडी प्रदर्शन गर्न नहुने उल्लेख गरिएको आयोगका एक अधिकारीले जानकारी दिए । 

निर्वाचन आयोगले यही अप्रिल १७ तारिखका दिन सर्वोच्च अदालतको आदेशमा सो चलचित्र आन्तरिकरूपमा हेरेको थियो । सात सदस्यीय टोलीले चलचित्र ‘पिएम नरेन्द्र मोदी’ निर्वाचनलाई प्रभावित पार्ने गरी नै बनाइएको निष्कर्ष निकालेको छ ।

यसअघि निर्वाचनको पूर्वसन्ध्यामा यो चलचित्र प्रदर्शन गर्ने भनिएकोमा पटक पटक स्थगित हुँदै आएको थियो । तर पछिल्लो समय अप्रिल १२ मा प्रदर्शन गर्ने तयारी भएपनि निर्वाचन आयोगले प्रदर्शनमा रोक लगाएको थियो । निर्वाचन चलिरहँदा मोदीको जीवनीमा आधारित उक्त चलचित्र प्रदर्शन गर्न दिने कि नदिने भन्ने बारेमा जनमत विभाजित छ । 

विपक्षीहरूले कुनैपनि हालतमा निर्वाचन अगाडि चलचित्र प्रदर्शन गर्न दिन नहुने अडान राखेका छन् भने मोदीका समर्थकहरुले चलचित्र प्रदर्शन हुन दिनुपर्ने माग राख्दै आएका छन् । मोदीको बाल्यकालदेखि अहिलेसम्मका सफलता र सकारात्मक भूमिकाहरुलाई चलचित्रमा समावेश गरिएको निर्माताहरुले बताएका छन् । 

भारतमा यही अप्रिल ११  देखि सुरु भएको लोकसभा निर्वाचन आगामी मे १९ सम्म विभिन्न सात चरणमा हुन लागेको हो । निर्वाचनको परिणाम आगामी मे २३ मा सार्वजनिक गरिने कार्यक्रम छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!