बंगलादेशमा दुई दिने राष्ट्रिय शोक घोषणा

Posted on: 03 Jul, 2016

असार १९, काठमाडौं । बंगलादेशको ढाकास्थित क्याफेमा भएको आतकंवादी आक्रमणपछि बंगलादेश सरकारले दुईदिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकामा शनिबार भएको आक्रमणमा १७ विदेशीसहित २० जनाको हत्या भएको थियो ।

बंगलादेशको सेनाका प्रवक्ताले बताएअनुसार आइएसआइएस लडाकूहरुले बन्धक बनाइएका अधिकांशलाई धारिलो हतियारले रेटेर बिभत्स तरिकाले हत्या गरेका थिए । जवाफी कारबाहीमा ६ आतंकवादी मारिएको र एक जनालाई जिउँदै पक्राउ गरिएको थियो ।

आतकंवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आतकंवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता जनाइन् । उनले रमजान जस्तो पवित्र चाडका बेला मुस्लीम समुदायलाई नै हत्या गर्ने कस्ता मुसलमान हुन् भनेर प्रश्न गरिन् ।

हसिनाले भनिन्, ‘उनीहरु कस्ता खालका मुसलमान हुन् ? जसले रमजानको असल सन्देशको उल्लंघन गरे र हत्या गरे । जुन तरिकाले उनीहरुले हत्या गरे त्यो सैह्य छैन । उनीहरुको धर्म छैन । आतंकवाद नै उनको धर्म हो ।’

उनले आतकंवादी र हिंस्रक चरमपन्थीहरुको सफाया गर्नका लागि कुनै कसर बाँकी नराख्ने संकल्प पनि लिएकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!