<p><img src="http://sajhasabal.com/uploads/posts/c5d537038474453fee64a2481efa339a1508463237.jpg" style="width: 550px; float: left;"><b>कात्तिक ३, काठमाण्डौ ।</b> हिन्दु नेपालीहरुको पर्व तिहार अर्थात यमपन्चकको चौथो दिन आज गोवद्र्धन पूजा गरि मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ । <br></p><p>त्यस्तै आज नेवार समुदायले भने म्हपूजा गरेर मनाउंदैछन् । आफ्नै शारिरको पुजा गर्नुलाइ म्हपूजा भनिन्छ । आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आगलागीबाट बचेको खुसियालीमा हाँडीगाउँ विशालनगरका बासिन्दाले यो प्रचलन शुरु गरेको इतिहास रहिआएको छ ।</p><p>तिहारमा आजको दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्रतीकका रुपमा गाईको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ । द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई ठूलो वर्षाका कारण हुने क्षतिबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेला देखि गोवर्धन पर्वतको पूजा गर्ने चलन सुरु भएको धार्मिक विश्वास रहिआएको छ । यस्तै आजै महादेवको बहानका रुपमा रहेको गोरुको पूजा गरि रोटि, बाबर, पिठो आदि खानेकुरा खुवाउने गर्दछन् । आज साँझ पुरुषहरु समुहमा जम्मा भएर देउँसी खेल्ने पराम्परा समेत रहेको छ ।</p>
