२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !

२०८३, ३ बैशाख बिहीबार १५:०८

अनिल अधिकारी । काठमाडौँ । मलेसियाले बिबादित कम्पनी Bestinet Sdn Bhd द्वारा विकास गरिएको नयाँ विदेशी कामदार भर्ना प्रणाली अपनाउने योजना बनाइरहेको बुझिएको छ । यो कम्पनी श्रम व्यवसायी दातुक सेरी अमिनुल इस्लाम अब्दुल नोर (अमिन)द्वारा स्थापना गरिएको कम्पनी हो । जसले बिकास गरेको “The Universal Recruitment Advanced Platform (TURAP)” प्रणालीमार्फत मलेसियाले बिदेशी कामदार भर्ना गर्ने तयारी गरेको रिपोर्टहरुको खुलाशा भएको छ ।

मलेसिया सरकारले विदेशी कामदार भर्ना प्रक्रियामा सुधार ल्याउने दाबी गर्दै नयाँ डिजिटल प्रणाली लागू गर्ने तयारी गरेको सूचना लिक भएसँगै यस सम्बन्धमा जानाकारले यसको पुष्टि गरेका छन् । Bloomberg को रिपोर्टअनुसार Bestinet Sdn Bhd द्वारा विकास गरिएको “The Universal Recruitment Advanced Platform (TURAP)” प्रणालीमार्फत रोजगारदाताले बिचौलियाबिना सिधै कामदार भर्ना गर्न सक्ने भनिए पनि यसको विश्वसनीयता र पारदर्शितामाथि भने प्रश्न उठेको छ । यसको प्रणाली सिमित व्यवसायीमा खुम्चनुको साथै खुला नीति नहुनुलाई सिन्डिकेटको रुपमा समेत हेरिएको छ । साथै यसले कामदार भर्नामा हुने बेथितिलाई रोक्ने कुरामा शंका गर्ने धेरै ठाउँ राखेको बताइएको छ ।

यसअघिनै नेपालमा Bestinet Sdn Bhd सँग जोडिएको माइक्रोटेक नेपाल नामको कम्पनीले सिमित मेडिकललाई मात्र बायो मेडिकलमा जोडेर सिन्डिकेटमा काम गर्दै आएको अभ्यास छ । Bestinet ले यसअघि सञ्चालन गरेको “Foreign Workers Centralized Management System (FWCMS)” प्रणालीमाथि भ्रष्टाचार, अनियमितता तथा कामदारहरूबाट अत्यधिक शुल्क असुलिएको आरोप लाग्दै आएको छ । जसको प्रत्यक्ष प्रभाव बंगलादेशमा परेको छ ।

नेपालको सन्दर्भमा अमिन तिनै व्यक्ति हुन् जसले नेपालका मेडिकल व्यवसायी कैलाश खड्कासँग मिलेर नेपालमा बर्षौं मलेसियाको मेडिकल सिन्डिकेट कायम राख्न सफल भएको आरोप छ । जसमा ३६ सिमित व्यवसायीले मात्र मलेसिया रोजगारमा जान स्वास्थ्य जाँच गर्न पाउने भनि बर्षौं सिन्डिकेट लगाउँदै आएको छ । जसको तालाचावी मेडिकल व्यवसायी कैलाश खड्कासँग निहित छ । खड्काले यसै सिन्डिकेटलाई धान्ने प्रायोजनमा आफू निहित मेडिकल व्यवसायीहरुसँग पटक-पटक पैसा माग्ने गरेको आरोप छ । केहिदिन अघि मात्र पनि यस सम्बन्धमा समाचार प्रकाशन भयएको थियो ।

बिभिन्न देशका व्यवसायी एजेन्टहरुसँग जोडिएर उक्त देशको सरकारी संयन्त्रलाई घुष खुवाई बर्षौं आफ्नो सिन्डिकेट लगाउन माहिर उनै अमिनको कम्पनीले मलेसियाको सिङ्गो कामदार भर्ना प्रणालीलाई व्यवस्थापन गर्न खोजेको विषयमा समाचार रिपोर्टहरु यसअघिनै आएका छन् । गत बर्षनै मलेसियाले नेपालसहित पाँच देशका म्यानपावर कम्पनीका लागि भन्दै १० बुँदे मापदण्ड जारी गरेपछि नेपालमा यस सम्बन्धमा वैदेशिक रोजगार क्षेत्रमा ठूलै हलचल ल्याएको थियो । क्रमश: सेलाएको सिन्डिकेट अहिले पुन: ब्युताउने प्रयास भएको बुझिएको छ । अहिले त तात्कालिन बिबादित कम्पनी Bestinet Sdn Bhd को नामनै सार्वजनिक गरेर त्यसै कम्पनीले विकास गरेको नयाँ विदेशी कामदार भर्ना प्रणाली लागू गर्न लागिएको छ ।

बंगलादेश प्रहरीले समेत सन् २०२४ मा उक्त प्रणाली रोक्न र अमिनुल इस्लामलाई अनुसन्धानका लागि जिम्मा दिन आग्रह गरेको थियो । यद्यपि, हालसम्म उनिमाथि कुनै ठोस कारबाही भने भएको छैन । मलेसियामा अमिनले सरकारी संयन्त्रलाई आफ्नो प्रभावमा पारेर राखेको आरोप समेत लाग्ने गरेको छ । उस्तै प्रभाव नेपालमा मेडिकल व्यवसायी कैलाश खड्काले श्रम मन्त्रालयलाई पार्दै आएको कारण बर्षौं नेपालमा मेडिकल सिन्डिकेट नतोडिएको आरोप छ । पछिल्लो समय नेपालमा नयाँ सरकार आएलगतै १३ दिन श्रममन्त्री बनेका दिपक कुमार शाहले स्वास्थ्य सिन्डिकेट तोडेको भनेपनि कैलाश खड्काको मेडिकल सिन्डिकेटलाई छुन समेत सकेनन् । मलेसियाको अमिनको लागि काम गर्ने नेपाल, बंगलादेश सहित स्रोत देशमा बिभिन्न एजेन्ट छन् । जसको मिलिमतोमा बिभिन्न सिस्टमको नाममा कामदारमाथि आर्थिक भार पार्ने गरेको आरोप छ ।

मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी रामानन रामकृष्णनले सन् २०२६ को मध्यसम्म प्रणाली लागू गर्ने लक्ष्य व्यक्त गरे पनि प्रक्रिया अझै प्रारम्भिक चरणमै रहेको बुझिएको छ । यसबीच, सरकारी अधिकारीहरूकै अर्को समूहले भने Bestinet लाई फेरि ठूलो जिम्मेवारी दिनु जोखिमपूर्ण हुन सक्ने भन्दै आपत्ति समेत जनाएका छन् । विशेषगरी कम्पनीका संस्थापक अमिनुल इस्लाममाथि विगतमा उठेका आरोपका कारण सरकारभित्रै शंका छ । मन्त्रीरामकृष्णनले गत फेब्रुअरीको सुरुतिर मलेसियाको The Star पत्रिकासँगको अन्तर्वार्तामा यस नयाँ प्रणालीबारे उल्लेख गरेका थिए, तर त्यतिबेला उनले Bestinet यसमा संलग्न हुने कुरा भने बताएका थिएनन् ।

नयाँ प्रस्तावअनुसार Bestinet लाई १२ वर्षको दीर्घकालीन ठेक्का दिन सकिने र प्रत्येक कामदार आवेदनका लागि रोजगारदाताले करिब १,००० अमेरिकी डलर तथा कामदारबाट थप एक महिनाको तलब बराबर शुल्क लिइने प्रस्तावमा छ । विज्ञहरूका अनुसार यस्तो शुल्क संरचनाले बिचौलिया हटाउने नाममा अर्को प्रकारको आर्थिक जालझेल सिर्जना गर्न सक्ने खतरा छ । यसले अन्ततः कामदारलाईनै लागत बढाउन सक्ने सम्भावना औंल्याइएको छ ।

मलेसियामा ठूलो संख्यामा बिदेशी कामदार ल्याउने कम्पनीहरूका लागि यो प्रणाली जटिल हुन सक्ने र बिचौलियाहरू पूर्ण रूपमा हट्न नसक्ने आशंका व्यक्त गरिएको छ । कतिपयले त यसले उल्टै भर्ना प्रक्रिया भूमिगत र अझ अपारदर्शी बन्न सक्ने चेतावनी समेत दिएका छन् ।

नेपालमा भएको अभ्यास

नेपालमा निश्चित २५ म्यानपावर मात्र खडा गरि मलेसिया रोजगारमा पनि सिन्डिकेटको प्रयास भईरहेको सूचना गत बर्ष ब्यापक चर्चामा रहेको बिषय हो । यसका लागि आफ्नो म्यानपावरलाई सूचीमा पार्न निश्चित म्यानपावर व्यवसायीले मलेसियाका अमिनलाई प्रति म्यानपावर १० करोडको डिल गरेको खबर वाहिरिएको थियो । यस सम्बन्धमा केहि म्यानपावर व्यवसायीले आफूले अग्रिम रुपमा पैसा समेत बुझाएको बताएका थिए । उनीहरुको भित्री कसरत अझै रहेको व्यवसायीहरुले बताउँदै आएका थिए ।

स्रोतका अनुसार गर्तबर्षनै मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया ‘सिन्डिकेट’मार्फत नियन्त्रण गर्ने ठुलो योजना तयार पारिएको र जसमा नेपालबाट मात्र मलेसियाको उक्त प्रणालीलाई झण्डै २ अर्ब ५० करोड रुपैयाँ अवैध च्यानलबाट बिभिन्न व्यवसायीले पठाउन लागेको सूचना प्राप्त भएको थियो ।

सम्बन्धित पक्षसँग प्रत्यक्ष छलफलमा बसेको बताउने स्रोतले दिएको जानकारी अनुसार २५ म्यानपावर कम्पनीलाई १०/१० करोड हाल्न भनिएको र आफूले मात्र नसकेको अवस्थामा आफ्ना अनुकुल म्यानपावरहरु जोडेर उक्त रकम उठाउन सुझाव समेत दिईएको छ । यसरी जोडिएका म्यानपावर कम्पनीहरुले डिमाण्ड आफ्नै म्यानपावरमा नपाएपनि सब-एजेन्टको रुपमा फाइदा कमाउन सक्ने बताइएको छ ।

हाल नेपालबाट मलेसिया रोजगारमा जाने नेपाली कामदारसँग उच्चतम प्रतिव्यक्ति ४ लाखको औशतमा रकम अशुली हुँदै आएको अवस्था छ । मलेसियाका बहुराष्ट्रिय कम्पनीहरुले केहि म्यानपावर मार्फत नैतिक भर्ना अभ्यासको पूर्ण पालना गर्दै नेपालबाट कामदार लगिरहेका पनि छन् तर त्यस्ता मागको संख्या सिमित मात्र छ । नेपाल सरकारले आफ्नो स्पष्ट नीति बनाउन नसक्दा चर्को लागतको विषयले मलेसियालाई समेत प्रभाव परेको छ । नेपालको नीतिले वैदेशिक रोजगारमा एजेन्टहरुको हालीमुहाली समेत रोक्न सकेको छैन । जसलाई देखाएर मलेसियामा समेत पारदर्शी भर्ना प्रणालीको बहश हुने गरेको छ । नेपाल लागायत स्रोत देशबाट मलेसियामा कामदार भर्ति गर्दा हुने अत्याधिक अशुलीको विषयलाई लिएर मलेसियाका रोजगारदाता कम्पनीहरु समेत अन्तराष्ट्रिय रुपमा आलोचित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला