माघ १८, काठमाडौं | वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जाने कामदारहरूको अभिमुखीकरण गराउने संस्थाहरुलाई ८ बुँदे निर्देशन दिएको छ । विभागका महानिर्देशक राजकुमार श्रेष्ठले करिब दुई दर्जन संस्थाहरुको अनुगमन गरेको दुई सातापछि विभागले सबै अभिमुखीकरण संस्थालाई एकै प्रकारको ८ बुँदे निर्देशन दिएको हो ।
विभागले गत पुस २४ गते विभागमा अभिमुखीकरण संस्थाका सञ्चालकहरुसँगको छलफल एवं परामर्श भन्दै माघ ८ गते उक्त निर्देशन दिएको हो । विभागले दिएको निर्देशनमा अभिमुखीकरण संस्थाले प्रशिक्षार्थी उपस्थितिको लागि प्रयोग भएको कम्प्युटरको म्याक एडेस विभागलाई उपलब्ध गराउनुपर्ने, संस्थाको ठेगाना अद्यावधिक गराउने, अभिमुखीकरण कक्षा सञ्चालन गर्दा पहिलो सत्रमा साढे दुई बजेदेखि तीन बजे र दोस्रो शत्रमा ८ बजेदेखि साढे आठ बजेसम्म खाजा खाने समय निर्धारण गर्ने, सञ्चालक र कर्मचारीको नियुक्ति र योग्यताका विवरण अपडेट गर्ने र प्रशिक्षकको फोटो सहितको विवरण देख्न सक्ने गरी राख्ने उल्लेख छ ।
त्यसैगरी, कक्षामा प्रशिक्षक उपस्थित नभइ जानकारी मुलक भिडियोमात्र देखाउने गरिएकोमा प्रशिक्षकलाई उपस्थित गराई भिडियोबारे ब्याख्या गर्न लगाउने, प्रशिक्षार्थीहरुलाई सिकाएका महत्वपूर्ण विषय तथा जानकारीको टिपोट तयार पार्न लगाउने, अभिमुखीकरण प्रशिक्षणको कार्यभार अनुसारको रुटिन तयार गरी कक्षामा टास गर्ने र प्रशिक्षकको अन्त्यमा प्रशिक्षार्थीसँग सिकेको विषय वस्तुबारे छलफल चलाई उस्ले जाने–नजानेको विषयमा फिडब्याग लिनुपर्ने निर्देशनमा उल्लेख छ ।
महानिर्देशक श्रेष्ठले यसै निर्देशनका आधारमा आगामी दिनमा अभिमुखीकरण संस्थाको अनुगमन गर्ने जानकारी दिए । यस अघि श्रेष्ठले आफू महानिर्देशकको जिम्मेवारीमा आए लगत्तै गत पुस महिनाको तेस्रो हप्ता राजधानीका सामाखुशी, गोंगबु, रातोपुल, गौशाला र सिनामंगलस्थित करिव दुई दर्जन अभिमुखीकरण संस्थामा अनुगमन गरी प्रशिक्षक र प्रशिक्षार्थी विना नै कक्षा सञ्चालन गर्ने केही संस्थालाई कारवाही गरेका थिए । हाल १ सय ६९ अभिमुखीकरण संस्थाहरुले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अभिमुखीकरण तालिम दिने गरेका छन् । त्यसमध्ये ४३ वटा राजधानी बाहिर रहेका छन् ।
वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानुभन्दा अघि विभागबाट अनुमतिपत्र प्राप्त गरेको संस्थाबाट दुई दिने अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ । विभागले अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिन थालेपछि वैदेशिक रोजगारीमा जाने कामदारहरुको उपस्थिति हाजिरी अनुसार देखिए पनि अभिमुखीकरण तालिम दिने कतिपय प्रशिक्षक भने कक्षामा अनुपस्थित भई विभागलाई गुमराहमा राख्ने गरेको पाइएको विभागको आशंका छ ।