माघ २९, काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले मुलुकी अपराध (संहिता) ऐन २०७४ अन्तर्गत राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को राज्यविरुद्धको कसूर अन्तर्गत दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्कि दिन नहुने उल्लेख छ । उपदफा १ मा कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद” भन्नाले नेपालको संविधान बमोजिमको सङ्घीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदलाई समेत जनाउँछ ।