चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मुलुकमा भित्रियो ११ खर्ब १२ अर्ब विप्रेषण

Posted on: 10 Jul, 2023

असार २५, काठमाडौँ | चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई आठ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४६.६ प्रतिशतले वृद्धि भई चार लाख ५९ हजार चार १५ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई दुई लाख ६० हजार दुई सय ६२ पुगेको छ । भने अघिल्लो वर्षको यहि अवधिमा यस्तो सङ्ख्या २०८. ३ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९  प्रतिशतले वृद्धि भई रु १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!