पर्बतको आधा दर्जन गाविसमा सडक पहुँच पुग्ने गरि कालोपत्र सुरु

Posted on: 28 Oct, 2016

कात्तिक १२, फलेवास (पर्वत) | पर्वतको खुर्कोटदेखि विभिन्न आधा दर्जन गाविसमा सडक पहुँच पुर्याउने गरी घुम्ती लाम्पाटा सडकको कालोपत्र गर्ने कार्य सुरु भएको छ । सडक डिभिजन कार्यालय बागलुङले पोखरा–बागलुङ राजमार्गअन्तर्गतको घुम्तीदेखि चार किलोमिटर सडक कालोपत्र गर्न सुरु गरेको हो । 

उक्त सडकको शिलान्यास गर्नुभएका सांसद अर्जुनप्रसाद जोशीले सडकको स्तरोन्नति कार्यमा कुनै बाधा–व्यवधान उत्पन्न हुन नदिन उपभोक्तालाई सुझाव दिनुभएको छ । 

सडक डिभिजन कार्यालय बागलुङमार्फत घुम्ती–लाम्पाटा–हिमालय मावि–खुर्कोट–पाङ–नुवार सडकखण्डको चार किलोमिटर स्तरोन्नति कार्य हुने भएको छ । स्तरोन्नति कार्यका लागि सडक डिभिजन कार्यालयसमक्ष जयबाबा गोरख ओखलढुङ्गा जेवी कन्स्ट्रक्सनले १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । 

असोजमा सम्झौता गरेको कम्पनीले २०७४ साल चैत महिनासम्म स्तरोन्नति कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले जानकारी दिनुभयो । स्तरोन्नति कार्यका लागि १० करोड बराबरको बोलपत्र आह्वान गरे पनि निर्माण कम्पनीले घटी घटाउमा पाँच करोड ९९ लाखमा निर्माण कार्य थालनी गरेको हो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!