पर्वत महोत्सवमा भएको आम्दानीले कुस्मामा सिटीहल र खेलमैदान निर्माण गरिने

Posted on: 05 Jan, 2017

महेन्द्र केसी पर्वत । पाँचौ पर्वत महोत्सवबाट भएको आम्दानीले जिल्लामा सिटीहल निर्माण तथा खेलकुद मैदान निर्माण गरिने भएको छ । महोत्सवबाट भएको आम्दानीबाट जिल्लामा सिटी महल तथा खेलकुद मैदान बनाउने र पर्यटकीय क्षेत्रको विकासको लागि महोत्सवको आयोजना भएको पाँचौ पर्वत महोत्सवका मुल संयोजक हरिओम शर्माले बताए । पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन प्रर्वद्धन, पर्वत जिल्लामा उत्पादित बस्तुहरुको प्रर्बद्धन तथा प्रचारप्रसार, लोकसंस्कृतिका जर्गेना, प्रदेश ४ को मुख्य पर्यटकीय नगरीका रुपमा कुश्मालाई स्थापित गर्नको लागि पाँचौ पर्वत महोत्सव हुन लागेको उनले बताए ।

महोत्सवको प्रचारप्रसारको तयारी तिब्र रुपमा चलिरहेको छ ठाउँठाउँमा व्यानर तथा पोष्टरहरु टाँस हुने काम भैरहेको महोत्सवका सदस्य सचिव ठाकुर वि पौडेलले जानकारी दिए । महोत्सव सफल पार्नको लागि ४६ उपसमिति तयार गरी तिब्र रुपमा महोत्सवको प्रचारप्रसारमा लागेका छौ । अहिलेसम्म लगभग ५० प्रतिशत काम पुरा भैसकेको छ पौडेलले भने ।

पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार तथा पाँचौ पर्वत महोत्सवको तयारी यतिबेला तिब्र रुपमा चलिरहेको छ । हरेक तीन बर्षमा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गर्दै आएको महोत्सवको पाँचौ संस्करणको तयारी तिब्र रुपमा अगाडि बढिरहेको छ । पाँचौ पर्वत महोत्सवबाट ४ करोड बराबरको कारोबार हुने आयोजकले दाबी गर्दै आएको छ । महोत्सवमा जिल्लाको पर्यटकीय क्षेत्रको विकास तथा धार्मिक क्षेत्रको पहिचानको लागि हुन लागेको पाँचौ पर्वत महोत्सवमा २ लाख दर्शकले प्रत्यक्ष रुपमा अबलोकन गर्ने विश्वास लिइएको छ । 

पर्वत उद्योग बाणिज्य संघको आयोजनामा आगामी माघ १३ देखि २२ सम्म पाँचौ पर्वत महोत्सबमा समाजमा लोपुन्मुख रहेका संस्कृतिलाई झल्काउने गुरुङ्ग, मगर, नेवारका संस्कृतिहरुको प्रदर्शनी, स्थानीय स्तरमा उत्पादन हुने फापर, कोदो, मकै, गुन्द्रुक लगायत विभिन्न आद्यन्नहरुको परिकार, स्थानीय स्तरमा बाँसबाट बनाइने स्याखु, दाम्लो, नाम्लो प्रदर्शनी तथा प्रत्यक्षरुपमा निर्माण,  रत्यौली प्रतियोगिता, भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारको प्रस्तुति जस्ता आकर्षणहरु रहने आयोजकले जनाएको छ त्यसैगरी  दुर्लुङको डाँडाबाट प्याराग्लाईडिङ्ग, कालीगण्डकीमा जलयात्रा र  बिश्वकै सबैभन्दा ठुलो चरा अष्ट्रीजको पनि प्रर्दशनी हुने आयोजकले जनाएको छ । 

जिल्लामा भित्रने पर्यटकलाई महोत्सवको अबधिमा धार्मिक तथा पर्यटकीय क्षेत्रमा व्याकेजमा लैजाने व्यवस्था समेत मिलाइएको बताइएको छ । अग्ला तिन पुल, गुप्तेश्वर, सह्श्रधारा लगायतका पर्यटकीय क्षेत्रमा व्याकेजमा पर्यटकलाई घुमाउने व्यवस्था समेत मिलाइएको जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!