राजश्व छल्ने बिरुद्ध आक्रामक कारवाही गर्ने महानिर्देशक पौडेल ८ महिनामै सरुवा

Posted on: 14 Jun, 2022

जेठ ३१, काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल साढे आठ महिनामै सरुवा भएका छन् । राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही गरिरहेका उनलाई एक्कासी सरुवा गरिएको हो । 

चालू आर्थिक वर्षको साढे आठ महिनाको अवधिमा विभागले झन्डै २२ अर्ब रुपैयाँ राजस्व छलीका मुद्दा दायर गरेको थियो । सो अवधिमा विभागले राजस्व चुहावट गर्ने र विदेशी विनिमय अपचलन गर्ने २ सय ८१ जना व्यक्ति तथा फर्मका सञ्चालकविरुद्ध विभिन्न अदालतमा कुल ११५ वटा मुद्दा दायर गरेको थियो ।


सोमबार सरुवा भएपछि महानिर्देशक पौडेलले आफ्नो साढे आठ महिने प्रगति विवरण सार्वजनिक गरेका थिए । विभागका महानिर्देशक पौडेलको सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । साढे आठ महिनाअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको महत्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त भएका पौडेललाई सरकारले २०७८ साल १८ असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकबाट राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएर पठाएको थियो ।

पौडेलले आफ्नो कार्यकालमा बहुराष्ट्रिय कम्पनीहरूले कारोबारमा गरेको पुँजीगत लाभकर छली, नक्कली अन्तःशुल्क स्टिकरको प्रयोग, क्रिप्टोकरेन्सी, ठूलो परिमाणका विदेशी विनिमय अपचलनका गतिविधिजस्ता अत्यन्तै जटिल र केही नयाँ विषयमा समेत विभागले उपलब्धिमूलक काम गरेको र यस्तै विषयमा आफ्नो अनुसन्धानलाई केन्द्रित गरेको जानकारी गराए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!