ए डिभिजन लिग : एपिएफ विजयी

Posted on: 14 Jan, 2022

पुस २६, काठमाडौँ | सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गरेको छ। पहिलो हाफको इन्जुरी समयमा नवीन लामाको कर्नरमा आभास लामिछानको हेडर गोल नै एपिएफलाई जित दिलाउन पर्याप्त बन्यो।

त्यसको एक मिनेटपछि नै एपिएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार आकासिँदा हिमालयनले बराबरी गर्ने अवसर गुमायो। यसअघि खेलको दोस्रो मिनेटमै स्ट्राइकर आशिष लामाको गोलमा एपिएफले अग्रता लिएको थियो। तर, सो गोलले अफसाइड भएको भन्दै मान्यता नपाएपछि एपिएफ निराश बन्यो।

२० औं मिनेटमा मनिष थापाको कर्नरमा आशिष गुरुङको हेडर क्रसबारमा लागेर फर्कंदा हिमालयन शेर्पाले गोल गर्ने अवसर गुमाएको थियो। ६३ औं मिनेटमा मिलनको कर्नरमा उजरिच सिइबीले गरेको हेड बारिरिँदा हिमालयनले खेलमा फर्कने अवसर गुमायो।

७०औं मिनेटमा अर्मान्डले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले रोक्दा एपिएफले अग्रता दोब्बर बनाउन सकेन। एपिएफले ९ खेलमा १० अंकसहित आठौं स्थानमा उक्लिएको छ। समान खेलमा ११ अंकसहित हिमालयन शेर्पा छैटौं स्थानमा छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!