एन्फा चुनाव : पुनरावेदनले कर्माछिरिङनिकट तीन मताधिकार फर्कायो

Posted on: 14 Jun, 2022

जेठ ३१, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न ६ असारको निर्वाचनमा ९ भोटका लागि परेको अपिलमध्ये तीन मतदाताले मताधिकार फिर्ता पाएका छन् ।

निर्वाचन समितिले यसअघि मताधिकारबाट वञ्चित गरेका चार मतदातासहित थप पाँच मताधिकारमाथि अपिल परेको थियो । जुन निर्णयसँगै अध्यक्ष पदमा पुनः दोहोरिन चाहेका कर्माछिरिङ  शेर्पा पक्षलाई फाइदा पुगेको थियो । 

अपिल कमिटीले सरस्वती क्लब, फ्रेन्ड्स क्लब र महिला फुटबल संघलाई मताधिकार दिने भएको छ । यसअघि निर्वाचन समितिले भने सिरहा जिल्लासहित कर्माछिरिङ शेर्पा प्यानलका चार मतदाताको मताधिकार खोसेको थियो । तर, अपिल कमिटीले चारमध्ये तीन जिल्लाको मताधिकारको निर्णय उल्ट्याएको छ ।

सिरहा जिल्लाको भने निर्वाचन समितिले खोसेको मताधिकार फिर्ता भएको छैन । यसअघि निर्वाचन समितिमा दावी–विरोध परेर बदर भएका चार मतदाता– महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लबले मताधिकार पाउनु पर्ने भनेर अपील परेको थियो ।

यस्तै, सिन्धुली जिल्लाले पनि मताधिकार पाउनु पर्ने दाबी गर्दै अपील गरेको थियो । स्याङ्जालाई मताधिकारको सूचीबाट हटाउनु पर्ने भन्दै अपील परेको थियो । रौतहटका नेपाल कार्कीमाथि पनि अपिल परेको थियो । यस्तै, आरसी ३२ र कैलालीको स्टार सिटीमाथि पनि अपिल परे पनि निर्णय परिवर्तन भएको छैन । 

६ असारमा हालका अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ आ आफ्नो प्यानल सहित अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!