श्रीलङ्काविरुद्धको टी–२० सिरिज भारतको कब्जामा, सूर्यकुमारको तेस्रो शतक

Posted on: 08 Jan, 2023

पुस २४, काठमाडौँ | श्रीलङ्काविरुद्धको टी–२० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ । यो जितसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ ।

राजकोटको सौराष्ट्र क्रिकेट स्टेडियममा भएको खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै २२८ रनको स्कोर बनायो। जवाफमा श्रीलङ्काका ब्याट्सम्यान १६.४ ओभरमा १३७ रनमा अलआउट भएका थिए ।

श्रीलंकाका लागि कप्तान दशुन शनाका र कुसल मेन्डिसले समान २३/२३ रन बनाए । धनन्जय डे सिल्भाले २२ र पथुम निसान्काले १५ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ पनि भारतको प्रदर्शन राम्रो रह्यो । अघिल्लो म्याचमा महँगो सावित भएका अर्शदीप सिंहले तेस्रो म्याचमा २० रन मात्र खर्चिएर ३ विकेट लिए । हार्दिक पाण्ड्या, उमरान मलिक र युजवेन्द्र चहलले २–२ विकेट लिए ।


भारतको जितका हिरो बने सूर्यकुमार यादव । उनले ५१ बलमा ११२ रन बनाए । खेलको प्लेयर अफ द म्याच सूर्य घोषित भए । टी–ट्वान्टी क्रिकेटमा उनको यो तेस्रो शतक हो | सूर्यकुमारबाहेक शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । श्रीलङ्काका लागि दिलशान मदुशंकाले २ विकेट लिए । कासुन रजिथा, चमिका करुणारत्ने र भानिन्दु हसरंगाले समान १–१ विकेट लिए ।

भारतीय टोलीले श्रीलङ्कासँग लगातार पाँचौँ घरेलु शृङ्खला जितेको छ । दुई टोलीबीच भारतमा अहिलेसम्म ६ वटा सिरिज भइसकेको छ । जसमध्ये एउटा मात्रै बराबरी भएको छ जुन सन् २००९ मा खेलिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!