विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जना पक्राउ

Posted on: 10 Jul, 2023

असार २५, काठमाडौँ | विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतार वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरेको हो | 

पक्रउ पर्नेमा विदेशबाट फर्केका ५ जनामा धनुषाका सुनिल कुमार महरा, नरेश पजींयार, सिरहाका दिनेश कुमार यादव, कपिलवस्तु सन्तु गुलाम मुराउ र  बाँकेका भुम बहादुर वली रहेका छन् । त्यस्तै सुन संकलन गर्ने क्रममा पक्राउ पर्नेमा सिनामंगलमा बी हिमालयन स्पायर होटल सञ्चालक बिनोद कुमार शाह, सञ्जु कुमारी शाह, दुर्गा प्रसाद यादव, देवानन्द शाह र सिरहाका मोहन कुमार यादव रहेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाको आधारमा निगरानी बढाउँदा विदेशबाट आउने ५ जनाको साथबाट ८२८ ग्राम सुन बरामद भएको प्रहरीको भनाइ छ । यसरी सुन पटक पटक आउने गरेको प्रहरीको प्रहरी स्रोतको भनाइ छ ।

वैदेशिक रोजगारीमा रहेकाहरुले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको सुन बोकेर ल्याएको प्रहरीले जनाएको छ । शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई परिचालन गर्दै आएको खुलेको छ ।  

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सन् २०१९ देखि उनको खातामा १ अर्ब ९६ करोड कारोबार देखिएको बताए ।

उनलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!