जितपछि रेणु दाहालको प्रतिक्रिया- पाँच वर्ष गरेको काम अनुमोदन भयो

Posted on: 24 May, 2022

जेठ १०, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित भएपछि माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफूले पाँच वर्ष गरेको कामको अनुमोदन भएको बताएकी छिन्।


मंगलबार बिहान अन्तिम मतपरिणाम सार्वजनिक भएपछि भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्- 'भरतपुरमा देशैभरिको ध्यान थियो। विपक्षीहरुको निशाना पनि थियो। भरतपुरमा गठबन्धनको उम्मेदवारलाई चुनाव हराउने भन्ने खालको निशाना थियो। त्यसलाई परवाह नगरी विगतको कामको सही मूल्यांकन गरेर, ५ वर्षको कामको अनुमोदन गरिदिनुभएको छ। त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु।'

उनले अब आफ्नो अन्तिम कार्यकाल भएकाले यसपटक पाएको अवसरको सदुपयोग गर्ने बताइन्। अवसरलाई एक सेकेन्ड पनि खेर नफालेर जनतालाई निराश हुन नदिने उनको प्रतिबद्धता छ। 

'पहिलो कार्यकालमा मैले जनताको भावना र अपेक्षाअनुसार काम गर्ने कोसिस गरेँ। मेरो बलबुता, क्षमता र तागतले भ्याएसम्मको मैले कोसिस गरेँ। म एउटा परीक्षण पार गरेर आएको छु। दोस्रो कार्यकालमा पनि विगतका अधुरा कामहरु र जनताले अपेक्षा गरेअनुसार सकेको कोसिस गर्नेछु। जनउत्तरदायी भएर, जनताको भावना बुझेर, विकासका अधुरा कामलाई पनि ध्यानमा राखेर भरतपुरलाई देशकै नमुना सहर बनाउने संकल्प विगतदेखिकै थियो। त्यसलाई पूरा गर्न कटिबद्ध भएर अगाडि बढ्नेछु', उनले भनिन्।

उनले आफूहरुले ३ देखि ७ हजार मतान्तरले जित्ने आकलन गरेको पनि बताइन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!