मोरङ किशोरी हत्या प्रकरण : एक जना शंकास्पद व्यक्ति पक्राउ

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङ स्रोतका अनुसार बारा घर भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही विषयमा थप भेरिफाई गर्ने क्रम जारी रहेको भन्दै प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

यद्यपि, उनी यसअघि पनि एउटा घटनामा पक्राउ परेको व्यक्ति भएको स्रोतको दाबी छ । त्यही विषयसँग हत्याको कारण जोडिएको हुनसक्ने आशंका छ ।

पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलस्थित मामाको छोरा दाजु विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको सोमबार राति साढे १० बजे हत्या भएको थियो । कोठाबाट निस्किएर शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो ।

उनी कराएको सुनेपछि घरका सदस्य बाहिर निस्किँदा छटपटाइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!