पार्टीका उपाध्यक्ष महरा पक्राउ परेपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक

Posted on: 18 Mar, 2024

चैत ५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार बिहान बस्नेगरी प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

बैठकमा नेताहरुको कार्यविभाजनसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा आज बिहान पक्राउ परेका छन् ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । लगत्तै गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सोही प्रतिवेदनपछि गृहमन्त्री रवि लामिछानेको निर्देशनमा आज बिहान प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो ।

तर, उपाध्यक्ष महरा पक्राउको विषयमा अहिलेसम्म पार्टीमा छलफल नभएको नेता ढकालले बताए । माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले पनि अहिले उपाध्यक्ष पक्राउको विषयमा छलफल नभएको बताए ।

उनले भने, ‘भोलि पदाधिकारी बैठक बोलाइएको छ । बैठकको एजेण्डाबारे केही आएको छैन । अब भोलि बैठकमै थाहा होला ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!