कपाल पलाउन थालेको छ, २० वर्ष जति कसैले आश नगरे पनि हुन्छ- ओली

Posted on: 05 Apr, 2024

चैत २३, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका छन् ।

एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार ओलीले २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका हुन् ।

शुक्रवार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


उनले देशलाई राम्रो बाटोमा लैजाने अभिभारामा आफूहरु सफलतापूर्वक अघि बढेको जिकिर गरे । उनले एमाले बिनाको नेपाल र ओली बिनाको एमालेको कल्पना गरेको भन्दै उनीहरुप्रति दया लागेर आउने बताए ।

‘कसैले एमाले बिनाको नेपाल भने, कठै बर । माया लाग्छ, एमाले बिनाको नेपाल । कसैले केपी ओली बिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिए, यसो गथ्र्यौं, उसो गथ्र्यौं, लाग्या होला’ उनले भने ‘मैले पोहोर परार भनेको थिएँ नि, जुँगा अलि काला काला हुन थाले भनेर । अहिले मेरो कपाल सबै झरेको थियो, पलाउन थालेको छ । यो रोपेको होइन, आफैँ पलाउन थालेको छ ।’

‘मैले भने नि २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ । नेकपा एमाले र यस देशलाई ठिक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनिमात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ’ उनले भने ‘अहिले हामीलाई समय छैन, हामी व्यस्त छौँ । झिँगाहरु सरापी रहेका छन्, नेकपा एमाले झन बलियो भएर अघि बढेको छ ’ - उनले भने।

उनले देशबाट गरिबी, भोकमरी हटाएपछि मात्रै नेकपा एमालेले सुस्केरा हाल्न सक्ने बताए ।

उनले अहिले नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको भन्दै पार्टीका आफ्ना उद्देश्य र नीति नछोडिकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको बताए ।

‘नेकपा एमाले अहिले नयाँ समीकरणको सरकारमा छ । तर पार्टी आफ्नाआफ्ना छन्’ उनले भने‘अहिलेको अवस्थामा सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने, अपसंस्कृति र सांस्कृतिक अधोपतनलाई फेरि सुबाटोमा फर्काउनुपर्ने अभिभारा छ । हामीले कदम चालेका छौँ । हामी सफलतापूर्वक अघि बढेका छाँै ।’

अध्यक्ष ओलीले आगामी चुनावमा एमाले एक्लैको बहुमत आउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!