नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

Posted on: 27 Apr, 2024

बैशाख १५, काठमाडौँ | नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । 

दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए । कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए । खेलको अन्त्यमा गुल्सन झाले दुई चौका हिर्काउँदै टोलीलाई जितसम्म डोर्‍याए । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकोयले २–२ विकेट हात पारे ।

यसअघि टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ ।

अब सिरिजको दोस्रो खेल आइतबार हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!