विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग

Posted on: 21 Jun, 2021

असार ७, वाग्मती (रासस) । वाग्मती प्रदेश सरकारलाई प्रदेश मामिला समितिले आर्थिक वर्ष २०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ ।

समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिनभित्र विवरण पेश गर्न माग गरिएको हो ।

सिन्धुपाल्चोकमा गएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेशभित्रका अन्य धेरै ठाँउ पनि जोखिमयुक्त रहेकाले प्राकृतिक विपत्तिको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि विस्तृत विवरण तयार गरी न्यूनीकरणमा प्रदेश सरकारलाई आवश्यक मार्ग दर्शन गर्न विभिन्न उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।

यस्तै समितिले प्रदेशभित्रका नागरिकमा कोभिड–१९ खोपको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्याको तथ्याङ्क माग गर्दै सो सम्बन्धमा पहिलो चरणमा रसुवा, धादिङ र नुवाकोटमा स्थलगत रुपमा विवरण सङ्कलन गर्ने निर्णय गरेको समितिका सचिव त्रिपुरारी बख्रेलले जानकारी दिनुभयो ।

यस्तै प्रदेशभित्रका सबै जिल्लामा सरकारले गरेको यथार्थ खर्चको विवरण १५ दिनभित्र प्राप्त हुने गरी माग गर्ने निर्णय भएको सचिव बख्रेलले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!