मुगुमा सामूहिक हत्या प्रकरणः एक सातामा पनि ठोस निस्कर्ष निस्केन

Posted on: 01 Nov, 2023

कार्तिक १५, सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–६, मुन्दु गाउँमा एकै परिवारका आमा र छोराछोरीसहित चार जनाको हत्या भएको एक हप्ता पुग्दासम्म पनि प्रहरीले ठोस निस्कर्ष निकाल्न सकेको छैन । 

कात्तिक ८ गते राति अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज, आठ महिनाका रहर र आठ वर्षीया छोरी अप्सराको  सामूहिक हत्या गरिएको थियो । अनुसन्धानमा खटिएको प्रहरीले हत्या भएको एक सातासम्म पनि अपराधीलाई पत्ता लगाउन सकेको छैन । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको प्रहरीले हालसम्म ठोस प्रमाण फेला पार्न सकेको छैन ।


हत्यामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भएपनि हत्यासँग सम्बन्धित प्रमाण भने फेला पार्न सकेको छैन । यस्तै कुकुरसहितको तालिमप्राप्त टोलीले अनुसन्धानलाई तीव्र पारेको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरुसँग पनि बलियो प्रमाण भने पाएको छैन ।

घटना कात्तिक ८ गते रातिको भएपनि १० गते बिहान गाउँलेले थाहा पाएपछि ९ गते प्रहरीलाई खबर गरेका थिए । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा ११ गते घर पुगेपछि सोही दिन चारै जनाको शव जिल्ला अस्पताल मुगुमा ल्याइएको थियो ।

गएको कात्तिक ११ गते कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत (हाल नेपालगञ्ज) बाट तालिमप्राप्त कुकुरसहित कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जुम्लाबाट प्रहरीको विशेष अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मुगुको टोलीले संयुक्त रुपमा पुरै गाउँलाई निगरानीमा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल पनि आफैँ घटनास्थलमा पुगेका थिए । घटनाको ठोस प्रमाण फेला नपरेपनि अनुसन्धान भने जारी राखेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

प्रहरीले मसिनो ढंगबाट विभिन्न संयन्त्रको प्रयोग गरेर अनुसन्धान गरिरहेको र दिनप्रतिदिन अनुसन्धानमा प्रगति भइरहेको उनको भनाइ थियो । भौगोलिक विकटताको कारण पनि अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ । उनीहरू दसैँको दिन टीका लगाएर कात्तिक ८ गते आफ्नो घर फर्किएका थिए । घटनास्थल मुगु सदरमुकाम गमगढीदेखि पूर्वतर्फ चार घण्टाको दूरीमा छ ।

हत्या भएको चार दिनपछि आइतबार प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका उक्त व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ । अनुसन्धानकोे करिबकरिब नजिक पुगिसकेको भट्राईले जनाए । उनका अनुसार अनुसन्धान सम्पूर्ण कोणबाट भइरहेको र पूरै सबुत प्रमाण पुगेपछि अपराधीलाई नियन्त्रणमा लिएर सबै कुरा सार्वजनिक गरिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!