नेपालबाट विदेशीले बर्सेनि लैजान्छन् आठ अर्ब

Posted on: 11 Sep, 2022

भदौ २६, काठमाडौँ | नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठूलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुकमात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौं रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो ।


विश्व बैङ्कले पनि सन् २०२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट त्यतिबेला विप्रेषणका रूपमा चार करोड ४१ लाख (करिब साढे पाँच अर्ब रुपियाँ) अमेरिकी डलर बाहिरिएको छ । त्यसअघि सन् २०१९ मा छ करोड, २०१८ मा चार करोड ९४ लाख, २०१७ मा तीन करोड ३४ लाख, २०१६ मा दुई करोड र २०१५ मा ९० लाख अमेरिकी डलर रहेको विश्व बैङ्कको तथ्याङ्क छ । यद्यपि औपचारिक माध्यमबाट बाहिरिएकोभन्दा धेरै रकम अनौपचारिक माध्यमबाट बाहिरिरहेको अनुमान राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टको छ ।

ठूलो सङ्ख्यामा भारतीय नागरिक नेपालमा अनौपचारिक रूपमै काम गरिरहेकाले उनीहरूले अनौपचारिक माध्यमबाटै विप्रेषण पठाउने गरेका छन् । विश्व बैङ्कको तथ्याङ्कमा भारतको विप्रेषण आम्दानीका दस महत्वपूर्ण स्रोत मुलुकमध्ये नेपाल पर्नुले पनि यो कुरालाई पुष्टि गर्छ । संयुक्त राज्य अमेरिकाको पिउ रिसर्चले सन् २०१७ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार त्यतिबेलै भारतीयले नेपालबाट करिब तीन खर्ब रुपियाँ विपे्रषणका रूपमा लगेको उल्लेख थियो ।

प्रत्येक दिन दुई हजारभन्दा बढी नेपाली युुवा वैदेशिक रोजगारीका लागि बाहिरिन्छन् । रोजगारीकै लागि श्रम स्वीकृति लिएर विदेशिने युवा ठूलो सङ्ख्या अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्या दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् ।

तर, नेपालमा पनि थुप्रै विदेशी जनशक्तिले काम गर्दै आएका छन् । श्रम इजाजत लिएर नेपालमा काम गर्नेमा छिमेकी देश भारत र चीनदेखि अमेरिका, युरोपेली र अफ्रिकी मुलुकलगायतका ६९ देशका नागरिक छन् । श्रम इजाजत लिई नेपालमा काम गर्ने देशको सूचीमा अफ्रिकी मुलुक चाड, नाइजेरियादेखि युरोपेली मुलुक जर्मनी, फ्रान्स, इटली, नेदरल्यान्डस्लगायतका नागरिक छन् । नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश मलेसियाका नागरिकले पनि नेपालमा काम गर्न श्रम इजाजत लिएका छन् । याे खबर गाेरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!