चैत १४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज पीडितसँग आजै भेट्ने भएका छन्। मिटरब्याज पीडितको मागबारे बुझ्न चार सदस्यीय समिति गठन गरेको छ।

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन्।

चार सदस्यीय टोलीले भेटेपछि मिटरब्याज पीडितसँग प्रधानमन्त्रीले भेट्ने समय तय गरिने जनाइएको छ।

प्रधानमन्त्रीले पीडितसँग भेटेपछि आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्नेसम्मको तयारी छ।

बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितको आन्दोलित भएपछि सरकारले माग सम्बोधन गर्न पहल थालेको हो।