असार १४, काठमाडौँ | अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ। पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको जानकारी दिए।

'मिति तय भइसकेको छैन। सायद यही महिनाको अन्तिमतिर जानुहुन्छ होला। मनोनयनको प्रक्रिया टुंगिसकेको छ,' ढकालले भने।

मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्। भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए। भारत सरकारले सीमासम्म ल्याइदिने र त्यहाँबाट ल्याउने प्रबन्ध विभागले गरिरहेको उनले जनाए।

सरकारले भारतबाट उन्नत नस्लका मुर्रा राँगा ल्याउन २०७३ सालबाटै पहल सुरू गरेको थियो। यी राँगाबाट रैथाने भैंसीको नश्ल सुधार हुने हुँदा सरकारले सात वर्षदेखि मुर्रा राँगा ल्याउन भारतसँग पहल गरिरहेको थियो। सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा उन्नत नश्लका मुर्रा राँगा दिने जनाएको हो।

मुर्रा राँगाबाट नश्ल सुधार भएका भैंसीले रैथाने भैंसीको तुलनामा झन्डै तीन गुणा बढी दूध दिने ढकाल बताउँछन्। अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजनन क्षमता रहेको भनिएको छ। ती राँगाबाट वार्षिक २ लाख वीर्य किसानको गोठगोठमा पुर्याउने विभागको योजना छ।