पढ्न करिब 2 मिनेट लाग्छ
असोज ५, सुर्खेत | पश्चिम नेपालमै पहिलो पटक फिस्टुला अस्पताल सुर्खेतमा स्थापना भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँको हाताभित्रै ६ करोडको लागतमा फिस्टुला अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।
१७ शैयाको फिस्टुला अस्पतालको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् । फिस्टुला अस्पताल बिएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो । उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नम्बर ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलाहरुलाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इन्चार्ज कृपा चौधरीले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म विरामीहरुले सेवा लिन धरान र काठमाडौं जानु पर्ने बाध्यता थियो ।सुर्खेतमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गरेर फिस्टुलाको अप्रेसन गरिदै आएको थियो । यो अवधिमा २ सय ५० जनाले शिविरमार्फत लाभ लिएका थिए ।
आईएनएफले जिल्लामा प्रत्येक वर्ष फिस्टुलाको शिविर सञ्चालन गर्ने गरेपनि नियमित उपचारका लागि भने विरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।‘ अब आफ्नै भवनबाट दैनिक रुपमा विषशेज्ञ सेवा दिइनेछ,’ इन्चार्ज चौधरीले भनिन्, ‘फिस्टुलाको उपचार निःशुल्क हुने हुँदा गरिब तथा असहाय विरामीलाई झनै सहयोग पुग्ने छ ।’ उनका अनुसार फिस्टुलाको विरामी र कुरुवालाई आउन जान लाग्ने खर्च र उपचार निःशुल्क गर्ने व्यवस्था छ ।क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका विरामी उपचारका लागि धरान र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए । विरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुलाका विरामी कति छन् भन्ने एकीन तथ्याङ्क नभएको खड्काले बताए ।

के हो फिस्टुला ?
बच्चा जन्माउँदा लामो प्रसव बेथाका कारणले महिलाको पिसाब थैली र यौनीद्धारमा प्वाल परी पिसाब चुहिने समस्यालाई नै फिस्टुला हो । योनीबाट निरन्तर रुपमा पिसाव वा दिसा पिसाव दुबै चुहिने समस्या फिस्टुला प्वाल भएमा हुन्छ । बच्चा जन्माउने बेला व्यथा लामो समयसम्म लाग्दा बच्चाको टाउको योनिमार्गमा धेरै समयसम्म रही टाउकोले थिचेको योनी मार्गको भागमा रक्तसञ्चार बन्द भई बन्द भएको भाग मर्न गएमा कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ ।त्यस्तो प्वाल पिसाव थैली र योनीमार्गको बिचमा परेको छ भने योनीमार्गबाट निरन्तर पिसाव चुहिरहन्छ ।
फिस्टुला भएका महिलाहरु दोहोरो पीडा भोग्न बाध्य हुन्छन् । फिस्टुला लामो र कठिन प्रसव पीडाको कारणले हुने हुँदा फिस्टुला हुने स्थितिसम्म आएका महिलाहरुको बच्चाको पनि नजन्मदै मृत्यु भइसकेको हुन्छ । फिस्टुला उपचारमार्फत निको हुने समस्या हो ।

