जेठ ३, काठमाडौं । कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ।

पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको छ। ६ हजार ६ सय ४८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि शनिबार ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको थियो। १ सय ८७ जनाको ज्यान गएको थियो। ५ हजार ४ सय ५५ जना निको भएका थिए।

मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ। मृतकको संख्या ५ हजार १ पुगेको छ। ३ लाख ३९ हजार ७ सय ५६ जना निको भएका छन्।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले निषेधाज्ञामा कडाइका कारण संक्रमण र मृत्यु हुनेको संख्या घट्न थालेको बताए। ‘एक सातायताको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमण र मृत्युदर घट्न थालेको छ’, प्रवक्ता डा। गौतमले भने, ‘सहरी क्षेत्रमा निषेधाज्ञा गरेका कारण संक्रमित हुने र मृत्यु हुनेको दर घट्न थालेको छ।’

ओम अस्पतालका डा। परशु घिमिरेले भने कोरोनाको ग्राफ घट्यो भनेर अहिले नै ढुक्क हुन नसकिने बताए। ‘म संक्रमित र मृत्यु हुनेको संख्या घट्यो भन्ने मान्न तयार छैन।

जो मानिस घर वा अस्पताल आउनुभन्दा अगाडि नै बितेका छन्। उनीहरूको गणितीय संख्या अहिले आइरहेको संख्यामा गणना हुँदैन’, डा। घिमिरेले भने, ‘जसलाई लक्षणहरू देखिएका छन्। उहाँहरू मात्रै परीक्षणका लागि आइरहनुभएको छ।’

डा। घिमिरेले अहिले पनि नेपाल कोरोना संक्रमणको ‘पिक’मै रहेको दाबी गरे। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।