सरकारलाई जवाफ लिन निर्देश : अध्यक्ष तिमल्सिना

Posted on: 28 Jan, 2019

माघ १४, काठमान्डौ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालका नाममा स्थापित अस्पतालका बारेमा सदनमा नेपाली काङ्ग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देश गर्नुभएको छ । 

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले सो निर्देश गर्नुभएको हो । नेपाली काङ्ग्रेसले आफ्ना शीर्ष नेता स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको छ । 

आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो । बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहमतिमा नै आएको सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी चिकित्साशास्त्र अध्ययनका अनुमति दिइसकेको अवस्था रहेको चर्चा गर्दै अगामी दिनमा यसलाई विधेयकले व्यवस्थित गर्नेछ भन्नुभयो । 

नेपाली काङ्ग्रेसका सांसद सुरेन्द्र पाण्डेले आफ्नो पार्टीका सांसहदले सदनमा उठान गरेका विषयवस्तुमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!