जमिन वाँझो नराख्न कृषकहरुलाई सचेतना अभियान

Posted on: 27 Nov, 2016

पर्वतका कृषकहरुलाई जमिन वाँझो नराखौँ भन्ने चेतनामुलक सन्देश घरघरमा पु¥याउन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाभरि सचेतनामुलक कार्यक्रम गर्दै कृषकहरुलाई जानकारी दिने कार्यक्रम शुरु गरेको हो । जमिन वाँझो हुँदा जिल्लामा आयात उच्च दरमा बढेपछि केन्द्रिय कार्यक्रम अन्तर्गत कृषकहरुका माझमा सचेतनामुलक अभियान थालिएको हो ।
आजवाट मिलनचौकसेवा केन्द्र अन्तर्गतका गाविसहरुका कृषकलाई यसवारेमा सचेतना कार्यक्रम सञ्चालन गरेर अभियानको थलानी गरिएको छ । जिल्लाका सेवा केन्द्र अन्तर्गतका १० ठाउँमा जमिन वाँझो नराखौँ भन्ने सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । अभियान अन्तर्गत आज मिलनचौक सेवा केन्द्र अन्तर्गत रहेका धाईरिङ, शालिजा,नाग्लीवाङ, वाँसखर्क, माझफाँट र लेखफाँटका अगुवा कृषक, कृषक समूह, कृषि सहकारीमा आवद्ध भएकाहरुलाई सचेतनामुलक अन्तरक्रियामा सहभागि गराइएको थियो । उक्त अवसरमा बोल्दै वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले सिँचाईको सुविधा भएर पनि खेतवारी वाँझो राख्नेहरुलाई कारवाहि गरिने जानकारी दिनुभयो ।
गतवर्ष जिल्ला परिषदवाटै प्रति रोपनी ५० रुपैयाँ जरिवाना लगाउने नितिगत निर्णय गरिएको स्मरण गराउँदै उहाँले स्थानीय स्वयत्त सासन ऐन २०५५ र नियमावली २०५६ अनुसार उक्त नीतिगत व्यवस्थाको कडाईका साथ कार्यान्वयन हुने बताउनुभयो । जिल्लामा सिँचाईको सुविधा भएपनि अझै २ हजार ४ सय २० हेक्टर जमिन वाँझो भएको उहाँले जानकारी दिनुभयो । ठाउँ सुहाउँदो वाली लगाउन उहाँले कृषकहरुलाई सुझाउनुभयो । कार्यक्रममा कृषकहरुले सिँचाईको अभाव, जनशक्तिको अभाव, बजारको समस्या लगायतका समस्याले खेत वाँझिएको गुनासो गरेका थिए । कार्यक्रममा स्थानीय कृषकहरुलाई प्रधानमन्त्री आधुनिक कृषि परियोजना कार्यक्रम सञ्चालन गर्न लागिएको बारेमा पनि जानकारी गराइएको थियो ।
जिल्लामा वल्क, जोन र पकेट क्षेत्र छुटाएर परियोजना सञ्चालन हुन लागेको कृषि कार्यालयले जानकारी दिएको छ । कार्यक्रममा कृषि कार्यालयका प्राविधिक सहायक रामकृष्ण अर्यालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । स्थानीय जेष्ठ कृषक यामवहादुर कार्किको अध्यक्षतामा भएको कार्यक्रममा अगुवा कृषक यज्ञप्रसाद सुबेदी गौरीस्वर पौडेल, शारदा शर्मा, टुङगनाथ सुबेदी लगायतका कृषकहरुले आफ्नो अनुभव र अपेक्षाहरु सुनाउनुभएको थियो । जमिन वाँझो नराखौँ भन्ने चेतनामुलक कार्यक्रम यसै चौमासिक भित्र पातिचौर, शिवालय केन्द्र अन्तर्गत २ ठाउँमा, ठुलीपोखरी, थापाठाना, फलेवास, रानीपानी त्रिबेणी र लुँखुमा सञ्चालन गरिने भएको छ ।
जमिन वाँझो हुँदा विदेशवाट खाद्यन्न,फलफुल, दलहन, तेलहन लगायतका सामाग्रीहरु ठुलो मात्रामा आयात भैरहेको छ । कृषि विकास मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ अनुसार नेपालमा आयात ७५ अर्व वरावर हुने गरेको छ भने निर्यात जम्मा १२ अर्वको हुने गरेको छ । सबैभन्दा वढि खाद्यन्न ३५ अर्वको हुने गरेको छ । तरकारी १३. ६ अर्व, फलफुल ८ अर्व, तेलहन ७ अर्व, माछा १ अर्व आयत हुने गरेको देखिएको छ । धानको उत्पादन वार्षिक २१ लाख टनले घट्दो मात्रामा रहेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!